०५ फागुन २०७६, काठमाडौं
गत असोजसम्म पूर्वसभामुख कृष्णबहादुर महरा मुलुककै पाँचौं वरीयतामा थिए। यस्तै पूर्व उपसभामुख शिवमाया तुम्बाहाङ्फे मुलुककै सातौं वरीयतामा थिइन्।
तर, सभामुख महरालाई संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि गत १४ असोजमा आफ्नो पदबाट राजीनामा दिएका थिए।
यौन दुर्व्यवहारको उजुरी दर्ता भएपछि उनी १९ असोजमा पक्राउ परे। त्यसपछि अदालतले महरालाई पुर्पक्षको लागि थुनामै पठायो।
तर, यता प्रतिनिधि सभाको रिक्त सभामुख पदमा कसलाई नियुक्त गर्ने भन्ने सम्बन्धमा सत्तारुढ नेकपाभित्र निकै सकस पर्यो।
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच यो विषयमा झनझनै टकराव नै शुरु भयो।
उता उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पनि आफू सभामुखको लागि सक्षम भएको भन्दै उम्मेदवार फिक्स् नभइ आफूले राजीनामा नदिने बताइन्।
अन्ततः रिक्त सभामुख पदमा प्रचण्डनिकटका नेता अग्नी प्रसाद सापकोटा नियुक्त भए।
तर, सोमबार (आज) सापकोटाको नियुक्तसँगै उपसभामुख पदबाट राजीनामा दिएकी तुम्बाहाङ्फेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कानूनमन्त्री बनाएका छन् भने, यता कारागार जीवन बिताइरहेका महराले पनि अदालतबाट सफाइ पाइ आजै छुटेका छन्।