०६ फागुन २०७६, काठमाडौं
मिलेनियम् च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अध्ययन गर्न बनेको नेकपाको कार्यदलले पार्टीलाई पत्र लेखेको छ।
वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्थायी कमिटी सदस्य भीम रावल सदस्य रहने गरी बनाएको कार्यदलले परराष्ट्रसँग कागजात माग गर्न पार्टीलाई पत्र लेखेको हो।
एमसीसी अध्ययन कार्यदलले परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको थियो। मन्त्रालयले कार्यदलले माग गरेका कागजात नदिएर असहयोग गरेपछि कार्यदलले पार्टीको सहयोग माग्दै पत्र लेखेको हो।
कार्यदलले पार्टी महासचिव विष्णु पौडेललाई पत्र लेखेर आवश्यक कागजात उपलब्ध गराउने गरी मन्त्रीलाई निर्देशन दिन माग गरेको छ।
“हामीले सबै कागजात उपलब्ध गराइदिन भनेर पार्टी महासचिवलाई पत्र लेखेका छौं।” संयोजक खनालले भने, ‘परराष्ट्र मन्त्रालयबाट आवश्यक कागजात उपलब्ध हुने क्रममा छन्। त्यो आएपछि थप अध्ययन गरेर सुझाव प्रतिवेदन पार्टीमा बुझाउँछौं।’
गत १५–१९ माघमा चलेको पार्टी केन्द्रीय कमिटी बैठकमा अहिलेकै अवस्थामा एमसीसी सम्झौता अनुमोदन गर्न नहुने र त्यसबारे थप अध्ययन गर्नुपर्ने भन्दै अधिकांश सदस्यले कुरा उठाएपछि केन्द्रीय सचिवालयले कार्यदल गठन गरेको थियो।