०८ फागुन २०७६, काठमाडौं
चीनको हुवेई प्रान्तको वुहान शहरमा पहिलोपटक देखा परेको कोरोना भाइरस (COVID-19) यतिबेला चीनभर महामारीको रुपमा फैलिदै बिश्वका २५ भन्दा बढी मुलुकमा प्रभाव पारिसकेको छ ।
सन् २०१९ को डिसेम्बर अन्त्यमा देखा परेको भाइरसले आजसम्म चीनमा मात्रै २,१२१ जनाको ज्यान लिईसकेको छ भने करिव ७४,००० जना भाईरसका कारण संक्रमित भई उपचाररत छन् । भाईरसको प्रभाव क्षमतालाई हेर्ने हो भने यस्ले कतिलाई प्रभाव पार्ने संख्या आँकलन गर्न सकिदैन । निरन्तर प्रयासका बाबजुत पनि भाईरस रोकथामको लागि प्रभावकारी भ्याक्सिन अझै पत्ता लागि नसकेको अवस्था छ । तथापि ! यस्तो अवस्थामा चीन सरकार र यसका निकायहरुले संक्रमितको उपचार, संक्रमणको फैलावट रोक्न अवलम्बन गरेका उपाय र प्रयासहरु तारिफ गर्न योग्य छन् । चिनियाँ सरकार र यसका निकायहरुले खेलेको प्रभावकारी भूमिकाको कारण द्रुत गतिमा फैलिरहेको भाइरसको तीब्रतामा कमी आएको तथ्यांकले पुष्टि गर्छ ।
यतिबेला चिनियाँ सरकारले उपलब्ध गराएको तथ्यांकको बिषयलाई लिएर कतिपयले पश्चिमा राष्ट्रहरुले शङ्का ब्यक्त गर्ने गरिरहेका छन् । भाइरस उत्पत्तिको स्थानलाई लिएर चीनको राजनैतिक प्रणाली माथि प्रहार गर्ने, बिदेशमा रहेका चिनियाँ नागरिकप्रति हेयको दृष्टिले हेर्ने, अपमान गर्ने तथा सामाजिक संजालमा मजाक उडाएका समाचार बाहिर आइरहेका छन् ।
गत हप्ता CGTN टेलिभिजनमा प्रस्तोता Liu Xin ले एक रिपोर्ट प्रस्तुत गर्दै चीनले अहिले घातक कोरोना भाइरससँग मात्रै जुधिरहेको नभई गहिरो र प्रतिकुल जातिवादले भरिएको बाह्य आक्रमणको समेत सामना गर्नु परेको उल्लेख गरेपछी यो झन् सघन रुपमा बहसमा आयो । सिलसिलाको शुरुवात एक डेनिस पत्रिका Jutland Post मा चीनको झण्डामा भएको पाँच वटा ताराहरुलाई भाइरसको चित्ररुपले प्रतिस्थापन गर्दै कार्टुन छापियो । फ्रान्समा प्रकाशित म्यागजिनमा Yellow Alert तथा जर्मनको म्यागजिनमा बिश्वब्यापीकरण घातक भएको भन्दै Corona Virus Made in China नामक शीर्षकमा अनि चर्चित अमेरिकी जर्नल Wall Street मा China is the real sick man of Asia भन्ने शीर्षक दिएर लेख छापियो ।
यी समग्र लेखको खण्डन गर्ने क्रममा प्रस्तोता Lu Xin अगाडि भन्छिन्, ‘चमेरोले पासपोर्ट बोक्दैन चीनमा पाइने चमेरो तपाईहरुको देशमा नपाउने होइन अनि भाइरसले पासपोर्ट चेक गर्दैन । भाइरस चाइनिज पासपोर्ट बोक्नेलाई लाग्ने र अरु देशको पासपोर्ट बोक्नेलाई नलाग्ने भन्ने त नहोला त्यसैले वाक स्वतन्त्रताको नाममा आउने यस्ता लेख तथा कार्टुन एक रोदन मात्रै हो । जब सन् २००९ मा अमेरिकाबाट शुरु भएको H1N1 भाइरसले बिश्वभरी १८,४०० मानिसको ज्यान लियो के त्यो बेला कसैले अमेरिकालाई Real sick man of North America भनेर लेख लेख्यो ? उनी थप प्रश्न गर्छिन्,अमेरिकाले दासत्वको लामो ईतिहास गुजार्यो, के अब Wall Street जर्नलले Slavery is glorious भन्ने शीर्षकलाई निरन्तरता दिन सक्छ ? उनको जोड छ कि यस्ता हेडलाइन भएका समाचारले गाह्रो परिस्थितिबाट गुज्रिरहेको चीनप्रति समवेदना त देखाएको छैन नै मानवता समेत भुलेका छन् । सामान्यतया शिक्षित र अरुलाई सम्मान देखाउनुपर्छ भन्ने मान्यता राख्छौं भन्ने यी समाज (देश)का मान्छेहरुको भनाइलाई यस्ता हेडलाइनले शङ्काको घेरामा समेत पारेको छ ।’
यसैबिच नेपालमा समेत एक अङ्ग्रेजी पत्रिका The Kathmandu Post मा अध्यक्ष माओले मास्क लगाएको तस्वीर सहित एक समाचार प्रकाशित गर्यो । उक्त प्रकाशित समाचार र तस्वीरको बारेमा नेपालस्थित चिनियाँ दुतावासले आपत्ति समेत जनाइसकेको छ । यता चीनमा नेपालबारे जानकार राख्ने केहि प्राध्यापक तथा विशेषज्ञहरुले उक्त समाचारको खण्डन गर्दै दूतावासले जारी गरेको बिज्ञप्ति सामाजिक संजालमा सेयर गरिरहेका छन् । यस्तो सहानुभूति ब्यक्त गर्नुपर्ने समयमा ‘घाउमा नुन छर्किए’ जस्तो भएको छ भने चिनियाँ जनताको नेपालप्रति हेर्ने दृष्टिकोण के बन्ला भन्ने प्रश्न समेत उब्जाएको छ ?
इतिहासको धेरै टाढा नजाउ, सन् २०१५ मा नेपालमा गएको बिनाशकारी भूकम्पमा चीनले गरेको सहयोग र चिनियाँ जनताले दर्शाएको सहानुभूति नेपाल र नेपालीले कहिल्यै बिर्सनु हुँदैन । मानिस होस् या रास्ट्र, गाह्रो समयमा सहानुभूति या साथ खोज्छ । मित्र चिन्नु दुःखको बेलामा भन्ने नेपाली उखान प्रचलित नै छ । तसर्थ यो समयमा एक असल छिमेकी र मित्र भएको आधारमा पनि चिनियाँ जनताप्रति सहानुभूति राख्नु र चिनियाँ सरकारले गरिरहेको कामप्रति ऐक्यबद्धता जनाउनु हाम्रो कर्तव्य हो ।
भलै हामी ठूलो सहयोग गर्न सक्ने अवस्थामा नहोला, मनको धनी भएको प्रमाण त हामी दिन सक्छौ नि ! अध्यक्ष माओ चीनमा अहिले पनि निर्विवाद सम्मानित हुनुहुन्छ । यस्तो बेला उहाँको विवादास्पद कार्टुन छापेर नेपालको अग्रणी मिडियाले आफ्नो असल छिमेकीको मन दुखाउने काम गर्नु हुदैनथ्यो । कुरा रह्यो भाइरस प्रभावित तथ्यांक सत्यताको । सत्यता माथि प्रश्न गर्नुभन्दा अघि हामीले के ख्याल गर्नुपर्छ भने महामारीको रुपमा रहेको भाइरसले जति पनि भौतिक रुपमा असर पारेको छ त्यो भन्दा बढी मानिसको मनोविज्ञानमा पारेको छ । महिनौंदेखि समाजबाट एक्लै भएर बसिरहेको अवस्थामा सार्वजनिक गरिएको महामारीको तथ्यांकले कस्तो असर पार्छ भन्ने कुरामा चीन सरकार पक्कै सजग छ । अहिले चिनियाँ सरकारले जे तथ्यांक दिएको छ त्यसलाई सत्य मान्दा हाम्रो के के न बिग्रिने हैन, यदि तथ्यांकमा केही घट्बढ रहेछ भने पनि आम जनताको मनोविज्ञान र महामारी पछिको बास्तबिकता अनुमान गरेर हो भन्ने कुरा हामीले बुझ्नुपर्छ । महामारी नियन्त्रण, यसपछिको अवस्थासँग प्रत्यक्ष जुध्नु पर्ने त चीन सरकारले नै हो । तसर्थ आफ्नो प्रेस स्वतन्त्रताको कुरा गर्दै गर्दा हामीले चीन सरकारको नीतिलाई पनि सम्मान गर्न भने बिर्सनु हुँदैन । चिनियाँ सरकार कसरी महामारीसँग जुध्दै छ, हाम्रो देशले कसरी सतर्कता अपनाउने भन्ने जस्ता बिषय छोडेर अहिले तथ्यांकको सत्यता माथि प्रश्न उठाउनु समय सान्दर्भिक देखिदैन ।
र अन्त्यमा,
चाइना छोड्ने यो समय उपयुक्त हो होइन भन्ने कुराको अन्तिम निर्णय लिने अधिकार चीनमा रहेका ब्यक्ति स्वयम्मा रहन्छ । ब्यक्तिले के सोच्छन् भन्ने कुरा अहिले उनीहरु चीनको कुन ठाउँमा बस्छन् भन्ने र उनीहरुको बुझाईको पनि भर पर्दछ । जस्तो कि भाईरसको इपिसेन्टर रहेको वुहान र यसको आसपासका शहरहरुमा बस्नेहरुले तुलनात्मक रुपमा अलिक टाढाका शहरमा बस्नेले भन्दा तत्काल देश छोड्न खोज्नु स्वभाविक थियो । गत हप्ता मात्रै १७५ जना वुहानका नेपालीलाई सरकारले आफ्नो देश लगिसकेको छ । अन्य शहरमा बस्ने ब्यक्तिहरु पूर्णतया सुरक्षित भईसकेको अवस्था भने हैन । सामान्य हेलचेत्र्mयाईले पनि भाईरस संक्रमणको खतरा उत्तिकै रहन्छ ।
अहिलेसम्म सुरक्षित छु, अब चिनियाँ सरकारले अपनाएको सुरक्षा मापदण्ड अनुरुप यहि बस्छु । देश फर्किएर साथीभाई, परिवार, समाजलाई समेत जोखिममा पार्दिन भन्ने बुझाईले घर नफर्किने पनि धेरै छन् । यद्यपि चिनियाँ सरकार र यहाँका निकायले लागू गरेका नीति, मापदण्डहरु पालना गर्ने हो भने आफूलाई सुरक्षित राख्न सकिन्छ । गाह्रो पक्कै छ तर अत्तालिएर देश फर्किने निर्णयले आफ्नो परिवार, समाजमा आफूले निम्त्याउन सक्ने खतरालाई भने नजर अन्दाज गर्न हुँदैन ।
आशा गरौं ! यो खराब समय चाडै अन्त्य हुनेछ र चिनियाँ जनजीवन सामान्य अवस्थामा फर्किनेछ ।
ऐन बिक्रम कुँवर
हाल बेइजिङ, चीन