०८ फागुन २०७६, काठमाडौँ
कुनै समयमा एकअर्काको प्रेममा रहेको हिमांश र नेहा अहिले आफ्नै काममा व्यस्त छन् । हिमांशसँग ब्रेकअप भएपछि डिप्रेशनमा समेत गएकी नेहा अहिले उनको नाम समेत सुन्न चाहन्नन् ।
नेहासँग ब्रेकअप भएको करिब १ बर्षपछि हिमांशले यसबारे मुख खोलेका छन् । हिमांशले नेहासँग आफूले विवाह गर्न चाहेको तर उनले नै आफूलाई ब्रेकअप दिएको बताएका छन् ।
यसबारे सामाजिक सञ्जालमार्फत नेहाले हिमांशलाई कडा जवाफ दिएकी छिन् । उनले हिमांशलाई फेमस हुनको लागि आफ्नो नाम प्रयोग नगर्न चेतावनी समेत दिएकी छिन् ।
नेहाले लेखेकी छिन्, ‘जो मान्छे मेरा बारेमा गलत बोल्छन्, उनीहरु मसँग जल्ने गर्छन्, र उनीहरु फेक हुन्, पहिले पनि प्रयोग गरे, अहिले पनि प्रयोग गरिरहेका छन्, ओए, आफ्नो कामले फेमस बन्, मेरा कारणले होइन ।’
‘म यहाँ तिम्रो बुबा, आमा र बैनीको कर्मको पनि बयान गर्नेछु, जो उनीहरुले मेरो बारेमा भने र गरे,’ नेहाले आक्रोश पोख्दै लेखेकी छिन्, ‘म तिमीहरुलाई चेतावनी दिइरहेकी छु, मेरो नाम प्रयोग गर्ने हिम्मत नगर, मलाई खलनायक बनाउने कोशिश पनि नगर, मसँग र मेरो नामसँग टाढै बस ।’