११ फागुन २०७६, काठमाडौं
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको छाँया मन्त्रिमण्डलले वर्तमान सरकारको भ्रष्टाचार छानविन गर्ने भएको छ।
गत जेष्ठमा गठित मन्त्रिमण्डलको आइतबार (आज) बसेको पहिलो बैठकले वर्तमान सरकारको भ्रष्टाचार छानविन गर्ने निर्णय गरेको हो।
निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा मात्रै नभएर अन्य मन्त्रालयको नीतिगत भ्रष्टाचारका कुराहरु बाहिर आएकाले अन्य मन्त्रालयहरुको पनि अध्ययन गर्न सम्बन्धित मन्त्रालय हेर्ने छाँया मन्त्रीहरुलाई निर्देशन दिइएको कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले बताए।
“जसले जुन मन्त्रालय हेर्नुभएको छ। त्यसलाई गहिरिएर अध्ययन गर्नुपर्ने र त्यहाँ भएका काण्डहरु रोक्न र जनतासमक्ष लिएर आउन अझ गहिरो अध्ययन गरी प्रतिवेदन बुझाउन पनि निर्देशन दिइएको छ।” नेता पाण्डेले भने, ‘मन्त्रालयहरुमा हुने नीतिगत भ्रष्टाचारबारे प्रधानमन्त्रीसमेत जानकार रहेको विषयमा अलग्गै छानविन गर्ने पनि निर्णय भएको छ।’
कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा समिक्षागत छलफल भएको छ।