१४ फागुन २०७६, काठमाडौं
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले गरेको उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णयलाई प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको चुनौतीपछि वरिष्ठ नेता माधवकुमार नेपाल बालुवाटार पुगेका छन्।
बुधवार (आज) बसेको सचिवालय बैठकमा सर्वसम्मत रुपमा वामदेवको नाममा सहमति जुटेको प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुसँग बताएका थिए। तर, त्यसलगत्तै ओलीले सचिवालयका केही सदस्यलाई फोन गरेर आफूले वामदेवलाई राष्ट्रिय सभा सदस्यमा सिफरिस गर्न नसक्ने बताएका थिए।
त्योसँगै ओलीले युवराज खतिवडालाई नै निरन्तरता दिने पनि बताएका थिए। श्रोतका अनुसार ओलीले पहिलो फोन उनै वरिष्ठ नेता नेपाललाई गरेको थिए। फोनमा उनले राष्ट्रिय सभामा युवराजकै नाम पठाउने तथा वामदेवलाई पठाउन नसकिने र सबै परिस्थितिको सामना गर्न तयार रहेको चेतावनी दिएका थिए।
ओलीको चुनौती सुनेपछि नेता नेपाल बालुवाटार पुगेका हुन्। दुवै नेताबीच पार्टीको विवाद समाधान गर्ने विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ। सचिवालय बैठकपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने निवास खुमलटारमै रहेका छन्।