१५ फागुन २०७६, काठमाडौं
त्रि–ज्योति माविले आफ्नो स्थापनाका २५ औं बसन्त पार गरी २६ औं बर्षमा प्रवेश गर्न लागेको सुखद् अवसरमा २५ औं अभिभावक दिवस, प्रतिभा सम्मान एवम् स्मारिका विमोचन कार्यक्रम आयोजना गर्ने भएको छ ।
आगामी फागुन १७ गते शनिबार बिहान १०:३० बजेबाट विद्यालय प्राङ्गणमा आयोजना हुने कार्यक्रममा पुरस्कार वितरण, त्रि–ज्योति पूर्व विद्यार्थी प्रतिभा सम्मान, त्रि–ज्योति समाजसेवा सम्मान, त्रि–ज्योति साहित्य सेवा सम्मान, त्रि–ज्योति जनसेवा सम्मान र त्रि–ज्योति ज्येष्ठ अभिभावक स्मृति सम्मान, विभिन्न व्यक्तित्वहरुलाई समर्पण गर्ने कार्यक्रम रहेको छ ।
विद्यालयले वर्षभरिमा गरेका चाडपर्व प्रदर्शनी, साँस्कृतिक कार्यक्रम, रचनात्मक प्रदर्शनी, खेलकुद समारोह लगायत विविध प्रयोगात्मक कार्यक्रम सम्पन्न गरेपछिको एक महत्वपूर्ण कार्यक्रमको रुपमा यो समारोह आयोजना हुन लागेको विद्यालयका प्राचार्य गणेश कुमार मिश्रले परिवर्तन खबरलाई जानकारी गराए ।
अभिभावक, विद्यार्थी र शिक्षकशिक्षिकाको मिलन हुने पवित्र स्थल विद्यालय भएको हुनाले सम्पूर्ण अभिभावकहरुलाई कार्यक्रममा आमन्त्रण गर्नुका साथै समाजसेवी, शिक्षासेवी एवम् विभिन्न तह र तप्कामा रहेका व्यक्तित्वहरुलाई आमन्त्रण गरिएको छ ।
संघीय सभाका सदस्य गगन कुमार थापाको प्रमुख आतिथ्यता तथा प्रदेश सभा सदस्यद्वय कुसुम कुमार कार्की र न्हुच्छे नारायण श्रेष्ठ विशेष अतिथि रहने कार्यक्रमको अवलोकनका निम्ति सम्पूर्ण जनसमुदायलाई त्रि–ज्योति माविले अनुरोध गरेको छ ।