१७ फागुन २०७६, काठमाडौं
सत्तारुढ दल नेकपाभित्र वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने कि नलैजाने भन्ने विवाद गहिरिँदै जाँदा प्रधानमन्त्री केपी ओलीलाई शीर्ष नेताहरुले सचिवालय बैठकको निर्णय कार्यान्वयन गर्न सुझाव दिएका छन् ।
सचिवालय सदस्य एवं वरिष्ठ नेता माधवकुमार नेपालले ओली र अन्य नेताहरुसँग समन्वय गर्दै सचिवालयको निर्णय कार्यान्वयन गर्न सुझाव दिएका हुन् ।
‘युवराज खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता दिने र गौतमलाई राष्ट्रिय सभामा लैजाने तहबाट छलफल अघि बढिरहेको छ । यो विषयमा प्रधानमन्त्री ओली र अन्य नेताहरु पनि सहमत हुने अवस्थामा पुग्नुभएको छ’, नेता नेपाल निकट स्रोतले भन्यो ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा शुक्रबार बिहान भएको छलफलबारे बालुवाटारमा नेपालले ओलीलाई जानकारी गराएका थिए ।
उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको थियो । शीर्ष नेताहरुको सुझावपछि ओलीले दबाब महसुस गरिरहेको स्रोतले जनाएको छ ।
‘नेता नेपालले ल्याएको सुझावपछि प्रधानमन्त्री अलि लचिलो बन्नुभएको छ, जसले गर्दा यही बाटो अवलम्बन हुने अवस्था बनेको छ’, बालुवाटार निकट स्रोतले भन्यो ।
प्रचण्ड निवासको बैठकमा खतिवडालाई मन्त्रीमा पुनर्नियुक्ति गर्ने र गौतमलाई राष्ट्रिय सभामा लैजानेगरी सहमति जुटाउने निर्णय भएको थियो ।
पार्टी अध्यक्षसमेत रहेका ओलीले गौतमलाई राष्ट्रिय सभामा नलैजाने बताएपछि शुक्रबार बिहान शीर्ष नेताको छुट्टै बैठक बसेको थियो ।
बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, नेपाल, गौतम र नारायणकाजी श्रेष्ठ सहभागी थिए ।
बिहान करिब आठ बजेदेखि चलेको छलफल पार्टीमा पछिल्लो समय बढेको विवादमा केन्द्रित रहेको स्रोतको दाबी छ । बैठक १० बजे सकिएको थियो ।
सुरुमा प्रचण्ड निवासमा खनाल पुगेका थिए । त्यसपछि नेपाल र गौतम पुगेका थिए । श्रेष्ठ ढिलो गरी पुगेका थिए ।
त्यसैगरी गौतम महासचिव विष्णु पौडेल आफ्नो घरमा आएर केही बेर छलफल गरेपछि निस्केको खबर आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।