अनमोल विरुद्ध ठगीको आरोपमा उजुरी !



१७ फागुन २०७६, काठमाडौँ

नेपाली चलचित्र क्षेत्रका चकलेटी ब्वाई अनमोल केसीविरुद्ध ठगी गरेको आरोपमा उजुरी परेको छ । अनमोलले केहीसमय अघि चलचित्र धुपौरे साइन गरेका थिए । तर पछि उनले स्क्रिप्ट चित्त नबुझेको भन्दै चलचित्रबाट हात झिकेका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले अनमोलविरुद्ध उजुरी परेको पुष्टि गरे । उनीमाथि फिल्मकर्मी जयन श्रेष्ठ र रुपेश खड्गीले उजुरी हालेका हुन् ।

‘उजुरी मात्र आएको हो, सम्पर्क गर्ने बुझ्ने गरिरहेका छौं, चलचित्र निर्माता संघमा मिलाउन भनेका छौं,’ डीएसपी बोगटीले भने, ‘खासै ठूलो कुरा होइन, उजुरी परेपछि हाम्रो तर्फबाट सोधपुछ चाहिँ भइरहेको छ ।’

अनमोलले यस चलचित्रको लागि ५ लाख एडभान्स लिइसकेका रहेछन् । उनले एडभान्स लिएर पनि चलचित्रमा काम नगरेको आरोप लागेको छ । त्यतिमात्र नभएर अनमोललाई जिम र अभिनय तालिमका लागि भन्दै थप २ लाख ५० हजार दिएको उजुरीमा उल्लेख छ । त्यस्तै उजुरीमा अनमोलले हानी नोक्सान पुर्याएको भन्दै उनलाई कानून बमोजिम कारवाही गर्नको लागि अनुरोध पनि गरिएको छ ।

प्रहरीले भने यो मुद्दालाई चलचित्र निर्माता संघमा मिलाउन आग्रह गरेको छ ।

यसबारेमा बुझ्न खोज्दा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

प्राप्त जानकारी अनुसार प्रहरीले अनमोललाई फोन गरेको थियो । जहाँ उनले चलचित्रको स्क्रिप्ट राम्रो बनेर आए काम गर्न तयार भएको होइन भने एडभान्स फिर्ता गर्न आफू तयार भएको बताएको स्रोतले जानकारी दिएको छ ।

यद्यपि अनमोलले खासै यसबारे कुरा भने गरेका छैनन् । उनी अहिले चलचित्र ए मेरो हजुर ४ को छायांकनमा व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्