१७ फागुन २०७६, काठमाडौं
सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँको कमिसन डिल गरिरहेको अडिओ सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले काठमाडौं जिल्ला अदालतमा शुक्रबार (हिजो) गाली बेइज्जतीको मुद्दा तर्दा गराएका छन्।
बाँस्कोटाले अडिओ सार्वजनिक गर्ने विजय मिश्रले अडिओमार्फत् आफ्नो चरित्र हत्या गर्न खोजेको भन्दै वारिसमार्फत् गाली बेइज्जती मुद्दा दायर गरेका हुन्।
अदालतमा दर्ता फिराद पत्रमा पूर्वमन्त्री बाँस्कोटाले मिश्रसँग भेट भएको र कमिसनको प्रस्ताव आएको स्वीकार गरेका छन्।
तर, उनको प्रस्ताव स्वीकार नगरेको बाँस्कोटाको दावी छ। उनले उक्त कथित अडिओमा कुनै सत्यता नभएको समेत उल्लेख गरेका छन्।