बालिकासँग आजसम्म दोहोरो सम्वादसमेत भएको छैन : मुख्यमन्त्री राई



१७ फागुन २०७६, काठमाडौं

पति कायम गरिपाउँ भन्दै काठमाडौं जिल्ला अदालतमा परेको मुद्दाबारे प्रष्टीकरण दिँदै प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले बालिका खड्कासँग आजसम्म दोहोरो सम्वादसमेत नभएको बताएका छन्।

शनिबार (आज) प्रेस संगठन नेपालको प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले आफूलाई फसाउन ठूलो गिरोह नै लागेको बताए।

सञ्चारमन्त्री छँदादेखि नै आफूविरुद्ध षड्यनत्र शुरु भएको बताउँदै मुख्यमन्त्री राईले तत्कालीन एमाले पार्टीमा आवद्ध भएर काम गरेको भनिएकी बालिका खड्कासँग आफ्नो दोहोरो कुराकानीसम्म पनि नभएको बताएका हुन्।
∴ मुख्यमन्त्री राईविरुद्ध मुद्दा : बालिकाद्वारा पति दावी गर्दै ‘अंश’ माग
“जुन पात्र [बालिका खड्का]को कुरा छ। ती पात्रसँग मेरो बोलचाल, चिनजान केही छैन। ती पात्रसँग दोहोरो सम्वादसमेत भएको छैन। म सञ्चारमन्त्री भएपछि फटाफट म्यासेज आउँछ। पचासौं–सयौंको संख्यामा आउँछ। भोलिपल्ट पनि आउँछ। म फोन गर्छु र मान्छे को हो? चिन्न खोज्छु। नामसम्म थाहा हुन्छ। म फोन राख्छु तर म्यासेज आइरहन्छ।” मुख्यमन्त्री राई भने, ‘ती म्यासेज मैले सरकारको प्रवक्ता र मन्त्रीको हैसियतमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई देखाउँछु। प्रधानमन्त्रीज्यूले यसअघि पनि गलत पोको ल्याएर मान्छे आएका थिए तर आज थाहा भयो तपाईंमाथि षड्यन्त्र भएको रहेछ। अब तपाई ढुक्कले केही विचलित नभएर आफ्नो काममा अगाडि बढ्नुस् र कुनै प्रतिक्रिया नदिनुस्। मैले चिनेबुझें भनेर भन्नुभयो तर पनि मलाई ह्यारेस गर्ने काम रोकिँदैनन्।’

यस्तै मुख्यमन्त्री राईले सरकारबाट बाहिरिएपछि आफूले घटनाबारे पार्टीलाई समेत जानकारी गराएको र पार्टीले आरोप गलत भएको निष्कर्ष निकालेको समते बताए।

प्रतिक्रिया दिनुहोस्