पूर्व उप–प्रधान एवं अर्थमन्त्री स्व. अधिकारीको स्‍मृति कार्यक्रम सम्पन्न



१८ फागुन २०७६, काठमाडौं

पूर्व उप–प्रधान एवं अर्थमन्त्री स्व. भरतमोहन अधिकारीको वार्षिक पुण्य तिथीको अवसरमा आज स्‍मृति सभाको आयोजना गरिएको छ।

भरतमोहन अधिकारी स्‍मृति फाउन्डेसनद्वारा आयोजित सो कार्यक्रम फाउण्डेसनका अध्यक्ष एवम् स्व. नेता अधिकारीकी धर्मपत्नी सविता अधिकारीको सभापतित्व तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्ने क्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतमोहन अधिकारी इमान र निष्ठालाई कायम राख्दै राष्ट्र र समाजको निम्ती लागि परेको एक गुणवान् नेता भएको बताए।

अध्यक्ष दाहालले आफूले विसं २०३६ सालमा भरतमोहनसँग पहिलो पटक प्रत्यक्ष रुपमा भेटघाट गरेको स्मरण गर्दै स्व. अधिकारी एक सरल व्यक्तित्व एवं अद्भुत विश्लेषण क्षमता र बहस गर्न सक्ने खुबीको नेता रहेको बताए।

यस्तै उनले स्व. अधिकारीलाई आफूले अघिल्लो पुस्ताका असल अभिभावकको रुपमा लिने गरे भन्दै नेपालको कम्युनिष्ट र राजनीतिक आन्दोलनमा उनको महत्वपूर्ण योगदान रहेको उल्लेख समेत गरे।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीले वक्ताका रुपमा बोल्ने क्रममा स्व. अधिकारी व्यक्तिगत रुपमा सरल, शालिन र सहअस्थितवमा विश्वास गर्ने अर्थशास्त्रीय दृष्‍टिकोणमा पनि राम्रो र राजनीतिक रुपमा क्षमतावान नेता रहेको बताए।

यसैगरी कार्यक्रममा सभापतिको रुपमा रहेका फाउण्डेसनकी अध्यक्ष तथा स्व. अधिकारीकी धर्मपत्नी सविता अधिकारीले स्व. नेता अधिकारीको विचार र कार्यशैलीलाई अनुशरण गर्न सकेको खण्डमा राजनीतिक नेतृत्व र अन्य नेताहरुले पनि सफलता हाँसिल गर्न सक्ने धारणा राखिन्।

प्रतिक्रिया दिनुहोस्