१९ फागुन २०७६, काठमाडौं
सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाएको छ । पूर्वमुख्यसचिवसमेत रहेका पौड्याललाई १५ दिनभित्र फिर्ता हुन निर्देशन दिँदै मन्त्रिपरिषद्ले नेकपा नेता तथा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई राजदूतका रूपमा चीन पठाउने निर्णय गरेको छ ।
पौड्यालको कार्यसम्पादन सन्तोषजनक नभएको भनेर तुरुन्त फर्काउने निर्णय गरेको सरकारले नेताका सासू, साली र व्यापारीका छोरीको काममा भने प्रश्न उठाएको छैन ।कांग्रेस सभापति शेरबहादुर देउवाकी सासू प्रतिभा राणा जापानमा राजदूत छिन् । पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको कांग्रेस र तत्कालीन माओवादीको संयुक्त सरकारले राणालाई वैशाख ०७४ मा राजदूत बनाएको हो ।
जापानजस्तो नेपालको असल विकास साझेदार देशमा बुढेसकालमा आराम गर्न राणालाई पठाइएको हो । उनको कामको विषयमा परराष्ट्र मन्त्रालयका कुनै पनि अधिकारी सन्तुष्ट छैनन् । त्यतिवेला कांग्रेस सरकारमा रहेकाले उनको नियुक्त भयो । अहिले देउवा प्रतिपक्षी दलका नेता भएकाले सरकारले राणालाई फिर्ता बोलाउन सकेको छैन । आजको नयाँ पत्रिका राष्ट्रिय दैनिकमा परशुराम काफ्लेको समाचार छापिएको छ ।