२१ फागुन २०७६, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गर्न सबै तयारी पूरा भएको कान्तिपुर दैनिकमा समाचार छ । उनको मंगलबार ‘डायलसिस’ गरिएको छ भने प्रत्यारोपणपछि शरीरलाई अन्य व्यक्तिको मिर्गौला स्वीकार गर्न सहज बनाउन ‘इम्युनो सप्रेसेन्ट’ औषधि चलाइएको छ । शल्यक्रिया अघि आवश्यक सबै परीक्षण गरिएको छ । यसअघि मुटुलगायतका परीक्षण भइसकेका उनको फोक्सोको स्थितिसमेत राम्रो देखिएको चिकित्सकले बताएका छन् । त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाका अनुसार प्रत्यारोपणका लागि आवश्यक सबै तयारी गरिएको छ । ओलीको स्वास्थ्य अवस्था अहिले जस्तै सामान्य रहे बुधबार बिहान ९ बजे शल्यक्रिया सुरु हुने जानकारी उनले दिए । ओलीको मिर्गौला प्रत्यारोपण गर्ने शल्यक्रिया टोलीमा अस्पतालका युरोलजी तथा मिर्गौला प्रत्यारोपण विभागका प्रा.डा. उत्तम शर्मा, प्रा.डा. प्रेम ज्ञवाली, डा. पवनराज चालिसे, डा. सुमन चापागाईं, डा. सुजित पौडेल र डा. मनीष प्रधानसँगै भारतीय डा. अनन्त कुमारसमेत हुनेछन् ।
शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काले प्रधानमन्त्री ओलीलाई मिर्गौला प्रत्यारोपणका लागि आवश्यक औषधि दिन सुरु गरिएको बताए। प्रत्यारोपण गर्नूपूर्व विशेषज्ञ चिकित्सकबाट आवश्यक स्वास्थ्य परीक्षण गरिएको बताउँदै उनले मिर्गौला प्रत्यारोपणका लागि कुनै समस्या नरहेको स्पष्ट पारेको नागरिक दैनिकमा समाचार छ । ‘अहिलेसम्म प्रधानमन्त्रीको स्वास्थ्यस्थिति राम्रो अवस्थामा छ, बुधबार मिर्गौला प्रत्यारोपण गर्ने कार्यतालिका रहेकाले विशेषज्ञ चिकित्सकको निगरानीमा राखिएको छ’, खड्काले भने। प्रधानमन्त्रीको स्वास्थ्यस्थितिको विषयमा नियमित रुपमा विज्ञप्ति निकालेर सञ्चारमाध्यमलाई जानकारी गराइने उनको भनाइ छ। त्रिवि शिक्षण अस्पताल सोमबार भर्ना भएका प्रधानमन्त्री ओलीलाई ६ सय १ नम्बरभिभिआइपी क्याबिनमा राखिएको छ। मिर्गौला प्रत्यारोपण गरेको एक साताभित्र क्याबिनेटको बैठक सञ्चालन गर्ने भन्दै ओलीले ठट्यौली गरेको उनको निगरानीमाखटिएका वरिष्ठ चिकित्सक अरुण सायमीले सुनाए। ‘हामी अलिकति चिन्तित छौं’, डा. सायामीले भने, ‘प्रधानमन्त्री ओलीले कुनै चिन्ता गर्नुपर्दैन, एकहप्तापछि क्याबिनेट बोलाउँछु भनेर उच्च मनोबलसाथ कुरा गर्नुभएको छ।’
यसअघि नेपाली अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका सबै १० जनाको शल्यक्रिया सफल भएको नयाँ पत्रिका दैनिकमा समाचार छ । नेपालमा ८ अगस्ट २००८ मा पहिलोपटक त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण थालिएको हो । ६ माघ ०६९ देखि सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले पनि मिर्गौला प्रत्यारोपण सेवा दिन थाल्यो । ०६८ मा केन्द्रको स्थापना भएको थियो । देशभर हालसम्म एक हजार पाँच सयको मिर्गौला प्रत्यारोपण गरिएको छ । त्यसमध्ये करिब सात सयको प्रत्यारोपण शिक्षण अस्पतालमा भएको युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका सर्जन प्रा.डा. प्रेमराज ज्ञवालीले बताए । त्यसको सफल दर ९८ प्रतिशत छ । नेपालमै १० जनामा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको छ । ती सबै सफल भएका छन् । डा. ज्ञवालीका अनुसार शिक्षण अस्पतालमा मात्रै आठजनाको दोस्रोपटक प्रत्यारोपण भएको छ भने दुईजनाको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गरिएको छ । ‘प्रधानमन्त्री केपी ओली ११औँ नम्बरमा पर्नुभएको छ,’ उनले भने । यसअघि प्रत्यारोपण गरिएका सबै सामान्य ढंगले जीवनयापन गरिरहेको उनले बताए । चिकित्सकहरूका अनुसार प्रधानमन्त्रीमा उच्च मनोबल छ । ‘प्रधानमन्त्री मिर्गौला प्रत्यारोपणका लागि पूर्ण तयार हुनुहुन्छ, उहाँको मनोबल युवाहरूको जस्तो छ । प्रत्यारोपणका लागि उहाँको स्वास्थ्य एकदम ठीक छ,’ डा. ज्ञवालीले भने । स्वदेशमै प्रत्यारोपण गर्ने प्रधानमन्त्रीको निर्णयले सबै चिकित्सकमा ऊर्जा थपिएको उनले बताए ।