खतिवडा पुनः अर्थमन्त्री



२१ फागुन २०७६, काठमाडौं

युवराज खतिवडाले फेरि अर्थमन्त्रीमा नियुक्ति पाएका छन्।

खतिवडालाई प्रधानमन्‍त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार (आज) पुनः अर्थ र सञ्‍चार तथा सूचना प्रविधिमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रिय सभा सदस्य पद मंगलबार (हिजो) मध्यरातिबाट स्वतः सकिने भएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए।

राष्ट्रपति भण्डारीले राजीनामा स्वीकृत गरी उनले सम्हालेका मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीलाई नै तोकेकी थिइन्।

संविधानको धारा ७८ मा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसद्को सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्ने र मन्त्रीले शपथग्रहण गरेको मितिले ६ महिनाभित्र संघीय संसद्को सदस्य हुनुपर्ने प्रावधानअनुसार खतिवडालाई पुनर्नियुक्ति दिइएको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ।

पुनर्नियुक्ति पाएका मन्‍त्री खतिवडाले बुधबार अपराह्न ४ बजे राष्ट्रपति भवन शीतल निवासमा एक समारोहबीच शपथ ग्रहण गर्ने छन्।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्