प्रत्यारोपणपछि प्रधानमन्त्रीले भने– म ठीक छु



२२ फागुन २०७६, काठमाडौं

प्रधानमन्त्री केपी ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ ।

शिक्षण अस्पतालका चिकित्सक प्रा.डा. प्रेम ज्ञवाली र प्रा.डा. उत्तमकुमार शर्माको नेतृत्वमा बुधबार साढे चार घन्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको हो । प्रधानमन्त्री ओली र मिर्गौलादाता समीक्षा संग्रौला दुवैको स्वास्थ्य सन्तोषजनक रहेको अस्पतालले जनाएको छ ।

साँझ ओलीलाई होस आएको छ । शल्यक्रिया गरेका डा. ज्ञवालीले भने, ‘होसमा त साँझ (बुधबार) नै आउनुभएको हो । तर, हामीले आराम होस् भनेर निद्रा लाग्ने औषधि दिएका छौं । कुराकानी गर्नुपरेमा राम्रोसँग गर्न सक्ने अवस्थामा हुनुहुन्छ । हामीले कस्तो छ भनेर सोध्यौं, उहाँले ठीक छ भन्नुभयो । अरू थप कुरा आज नै गर्न उचित भएन । त्यसैले हामीले आराम गर्न दिएका छौँ ।’ बिहान साढे १० बजेबाट सुरु भएको प्रत्यारोपण ३ बजे सकिएको थियो ।

‘सबैको जस्तै हो । मिर्गौला प्रत्यारोपण गर्न जम्माजम्मी चार घन्टा ३० मिनेट लाग्यो । त्यसमध्ये मिर्गौला जोड्न ३९ मिनेट लाग्यो । यो भनेको सामान्य हो,’ डा. ज्ञवालीले भने । नयाँ पत्रिका दैनिकमा अर्जनु अधिकारीले यो समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्