प्रचण्डलाई लक्षित जुत्ता प्रहार घटना : तिरूवा विप्लव समूहको कार्यकर्ता नरहेको पुष्टि



२२ फागुन २०७६, काठमाडौं

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गरी जुत्ता प्रहार गर्ने रतन तिरुवा विप्लव समूहको कार्यकर्ता नभएको पुष्टि भएको छ।

गत आइतबार राष्ट्रिय सभा गृहमा भाषण गरिरहेको समयमा प्रचण्डलाई लक्षित गरी तिरुवाले जुत्ता प्रहार गरेका थिए। जुम्लाका तिरुवालाई पक्राउ गरी अनुसन्धान गर्न महानगरीय अपराध महाशाखाका प्रमुख तथा एसएसपी सहकुल थापाको नेतृत्वमा तीन सदस्यीय छानविन टोली गठन भएको थियो।

सोही टोलीले छानविन गरेको प्रतिवेदनमा तिरुवा कुनै विप्लव समूह वा अन्य संस्थामा आवद्ध नभइ आफैँ आवेगमा आएर जुत्ता प्रहार गरेको निष्कर्ष निकालेको हो।

नेकपा जुम्लाले भने प्रचण्डमाथि जुत्ता प्रहार गरेको समाचार आएपछि विज्ञप्ती निकाल्दै तिरूवा विप्लव पार्टीको कार्यकर्ता रहेको दावी गरेको थियो।

त्यस्तै द्वन्द्वकालमा मारिएका भनिएका तिरूवाका बुबा पनि शहीद नरहेको विज्ञप्तिमा उल्लेख गरेको थियो।

उनलाई गत हप्ता नै जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको थियो।

प्रतिक्रिया दिनुहोस्