२३ फागुन २०७६, काठमाडौं
बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्गको स्थलगत निरीक्षण गर्नुभएको छ ।
मन्त्री फुयाँल वाग्मती प्रदेशको गौरवको योजना हेटौँडा–काठमाडौँ जोड्ने भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणमा भइरहेको कामबारे जानकारी लिन आज निर्माणस्थल पुग्नुभएको हो । सो क्रममा प्राविधिक टोलीका इञ्जिनीयरिङ भूगर्भशास्त्री ईश्वर दाहालले मन्त्री फुयाँललाई सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गर्न भइरहेको प्राविधिक अध्ययनको बारेमा जानकारी गराउनुभएको छ । भूगर्भशास्त्री दाहालले सुरुङमार्गको ५० प्रतिशत प्राविधिक अध्ययन गरी सकाएको जानकारी दिनुभयो ।
उहाँले करिब डेढ महिनाभित्र सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार हुने र टोपोग्राफिक सर्वे, जियोलोजिकल म्यापिङ सर्वे, ड्रोन सर्वे भइरहेको बताउनुभयो । जियोलोजिकल सर्वे तीन दिनपछि शुरु हुने उहाँले बताउनुभयो । सुरुङमार्गको प्राविधिक अध्ययनको लागि १० डिजाइनिङ, २० सोयल इन्भेस्टिगेशन, पाँच टापोग्राफिक, पाँच जियोफिजिकल र पाँचले ड्रोन सर्वे गरी ४५ कार्यस्थलमा खटिएको भूगर्भशास्त्री दाहालले जानकारी दिनुभयो । भीमफेदीदेखि कुलेखानीसम्म ३ दशमलव २१५ किलोमिटर सुरुङ निर्माण हुनेछ ।
वाग्मती प्रदेश सरकारले वैशाख २०७७ भित्रै सुरुङमार्गको ग्लोबल बोलपत्र आह्वान गर्ने गरी काम अगाडि बढाएको भौतिक विकासमन्त्री फुयाँलले जानकारी दिनुभयो । उहाँले सुरुङमार्ग बन्नेमा विश्वस्त हुन जनमानसलाई आग्रह गर्नुभएको छ । “यो प्रदेशकै गौरव योजना हो । कुनै हालतमा प्रदेश सरकारले सुरुङमार्ग बनाएर छाड्छ विश्वस्त हुनुस् । अब हामी आगामी वैशाखभित्रै बोलपत्र आह्वान गर्दैछौँ,” मन्त्री फुयाँलले भन्नुभयो ।
सुरुङमार्ग निरीक्षणमा संविधानसभा सदस्य अनन्त पौडेल, पूर्वजिल्ला विकास समितिका सभापति रामेश्वर राना, भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पार्वती राना, नेकपा मकवानपुरका नेता एकालाल श्रेष्ठलगायत हुनुहुन्यो ।