ललिता निवास जग्गा प्रकरण-गच्छदारसहित ७४ जनालाई १५ दिनभित्र अदालतमा उपस्थित हुन म्याद जारी



२३ फागुन २०७६, काठमाडौं

ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेकोमध्ये ७४ जनालाई १५ दिनभित्र अदालतमा उपस्थित हुन १५ दिने म्याद जारी गरिएको छ।

उच्च अदालत काठमाडौंले शुक्रबार (आज) कांग्रेस उपसभापति विजयकुमार गच्छदारसहित अन्य ७४ जनाको नाममा १५ दिने म्याद जारी गरेको अदालतले जनाएको छ।

अख्तियारले गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो माग दावी गरेको थियो। अदालतले अख्तियारले आरोपपत्र दायर गर्दा क्रम संख्या १ देखि ४५ सम्मका व्यक्तिलाई र क्रम संख्या ११० देखि १४० सम्मका व्यक्तिलाई म्याद जारी गरिएको अदालतले जनाएको छ।

क्रम संख्या ८ को भने ठेगाना नभेटिएकाले म्याद जारी नभएको बताइएको छ। ती मध्ये क्रम संख्या १ देखि ४५ सम्मका ४४ जना भ्रष्टाचार आरोप लागेका र ११० देखि १४० सम्मका ३० जना जग्गा जफत प्रयोजनमा अभियोग लगाइएका छन्।

गच्छदारलाई अख्तियारले क्रम संख्या ४१ मा आरोपपत्र दायर गरेको थियो । गच्छदारलाई आरोपपत्रमा ८ देखि १० वर्षसम्म कैद सजाय पनि माग दावी गरिएको छ।

अख्तियारले गत २२ माघमा पूर्वउपप्रधानमन्त्री गच्छदारसहित ११० जनाविरुद्ध आरोपपत्र दायर गरेको थियो।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्