‘प्रधानमन्त्रीज्यू! काम नलाग्ने मिर्गौला फेर्नुभयो, काम नलाग्ने आसेपासे कहिले फेर्नुहुन्छ?’



२३ फागुन २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणसँग जोडेर प्रतिनिधि सभाका केही सांसदहरुले भ्रष्टाचारविरुद्धको सवाल उठाएका छन्।

शून्य समयमा बोल्दै सांसदहरु तेजुलाल चौधरी र डिला संग्रौला पन्तले प्रधानमन्त्रीको आत्मविश्वासले रोगसँग जिते पनि भ्रष्टाचारसँग जित्न नसकेको बताउँदै यस्तो सवाल उठाएका हुन्।

सांसद तेजुलाल चौधरीले काम नलाग्ने भएपछि शरीरको अंग फेर्नुपरेजस्तै देश र जनताका लागि काम नलाग्ने आफ्नो वरिपरीका मान्छेलाई पनि फेर्नुपर्ने आशयको भनाइ राखे। “शरीरको अंग भएपनि काम नलाग्ने भएपछि फेर्नुपर्ने रहेछ। आसेपासे भएपनि देश र जनताको काम नलाग्ने भ्रष्टाचारीलाई किन कारबाही भएन?” सांसद चौधरीले भने।

यसैगरी डिला संग्रौला पन्तले पनि देशमा कोरोना जस्तै भ्रष्टाचारले सताएको बताइन्। “भ्रष्टाचार नेपालको कोभिड १९ नै हो। देशलाई भ्रष्टाचारले बिकलाङ्ग बनाएको छ।” उनले भनिन्।

उनीहरुले कमिसन प्रकरणमा मुछिएका पूर्व सञ्चार, सूचना तथा प्रविधिमन्त्रीतिर संकेत गर्दै उक्त भनाइ राखेका हुन्।

प्रतिक्रिया दिनुहोस्