‘कोरोना भाइरस’ को डरका कारण ‘सेनिटाइजर’ लगाएर सिनेमा हेर्दै दर्शक



२५ फागुन २०७६, काठमाडौँ

कोरोना भाइरस को त्रास बढ्दै गएपछि चलचित्र निर्माता संघ ले हाल छायांकन भैरहेका चलचित्रको छायांकन केहीसमयसम्म रोक्नको लागि अनुरोध गरेको थियो । तर निर्माता संघले पत्र पठाउँदा पनि केही चलचित्रको धमाधम छायांकन भैरहेको छ ।

यतिबेला पोखरामा चलचित्र ए मेरो हजुर ४ र परदेशी २ छायांकन भैरहेका छन् । ए मेरो हजुर ४ का निर्माता सुनिल कुमार थापाले ए मेरो हजुर ४ को छायांकन नरोक्ने जानकारी दिइसकेका छन् । उनले कोरोनाको त्रास नेपालमा बढ्दै गएकाले आफूहरु सावधानी भने पक्कै पनि अपनाउने बताएका छन् ।

यस्तै परदेशी २ का निर्देशक नारायण रायमाझीले भने चलचित्रको छायांकन गर्ने वा नगर्ने भन्ने विषयमा हाल छलफल भैरहेको जानकारी दिएका छन् ।

यस्तै कोरोना भाइरस भिडभाडबाट फैलने सक्ने भएकाले फिल्म हलहरु सञ्चालन गर्ने वा नगर्ने भन्ने विषयमा पनि छलफल भैरहेको छ । फिल्म हल भनेको भिडभाड हुने ठाउँ हो । यस्तै तत्कालको लागि भने विशेष सावधानीका साथ हलहरु सञ्चालन भैरहेका छन् ।

कोरोनाबाट सावधानीका लागि क्युएफएक्स हलले सेनिटाइजर लोसन, पाउडर र स्प्रे प्रयोगमा ल्याएको छ । यी सामाग्रीहरु क्युएफएक्स चेनमा रहेका सम्पूर्ण हलहरुमा प्रयोग गरिएको छ ।

अन्य कतिपय हलहरुले पनि दर्शकका लागि सेनिटाइजर लोसन, पाउडर तथा स्प्रे प्रयोगमा ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्