२७ फागुन २०७६, काठमाडौं
दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीलाई बुधबारसम्म डिस्चार्ज गर्ने तयारी भएको छ । गत बुधबार मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार देखिएपछि बुधबारसम्म डिस्चार्ज दिने तयारी भएको उपचारमा संलग्न एक चिकित्सकले बताए ।
उनका अनुसार शल्यक्रियापछि पिसाब फेर्न सहज गर्न राखिएको ‘क्याथेटर’ (पाइप) सोमबार झिकिएको छ । पेटमा राखिएको ‘ड्रेन’ (पाइप) मंगलबार झिकेपछि बुधबार डिस्चार्ज हुने उनले बताए । शल्यक्रियापछि रसाउने रगत र पानीको मात्रा बाहिर निकाल्न क्याथेटर र ड्रेन राखिन्छ ।
सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जले प्रधानमन्त्रीको स्वास्थ्य सामान्य रहेको जनाएको छ । नियमित खानपानसँगै प्रधानमन्त्री दैनिक हिँडडुल र व्यायाममा रहेको अस्पतालले जनाएको छ । नयाँ पत्रिका दैनिकमा यो समाचार प्रकाशित छ ।