के स्वास्थ्यमन्त्री भानुभक्त ढकालले गलत नै बोलेका हुन् त ?



२८ फागुन २०७६, काठमाडौं

यतिबेला कोरोना भाइरस महामारीको रुपमा बिश्वका ६० भन्दा बढी देशमा फैलिएको छ । भाइरसको सुरुवात भएको देश चीन यसको लगभग नियन्त्रणको नजिक (थप नयाँ बिरामी न्यून भएको अवस्थामा) छ भने बितेको केही हप्ताबाट संक्रमणमा परेका मुलुकहरु इटाली, दक्षिण कोरिया, इरान, जापान जस्ता मुलुकहरुमा भयङ्कर रुप लिदै छ ।

यहाँ बिचारणीय कुरा के छ भने चीन भन्दा अझ विकसित मुलुक इटाली, दक्षिण कोरिया अनि जापानमा चीनको तुलनामा नियन्त्रणमा सफलता किन हासिल हुन सकिरहेको छैन ? के ती मुलुकहरुमा चीनको भन्दा स्वास्थ्य उपचार प्रणाली कमजोर छ ? या महामारीसँग जुध्ने क्षमता कमजोर छ ? मलाई त्यस्तो लाग्दैन । अझ, किन यूरोप जस्तो मजबुत स्वास्थ्य उपचार प्रणाली र स्रोत साधनले सम्पन्न मुलुकका मानिस पनि चीनबाट सिक्न भनिरहेका छन् अनि यदि कोरोना लाग्यो भने उपचार गर्न चाहीँ चीन नै जान्छु भन्दै छन त ?

चीनको कोरोना नियन्त्रणमा मिल्दै गएको सफलता सरकार र जनताको सामुहिक प्रयासको रुपमा देखिन्छ । अवश्य पनि यसमा चीन सरकारको अत्याधिक भूमिका छ तर चिनियाँ जनताको देन र योगदानलाइ पनि नजर अन्दाज भने गर्न सकिदैन र मिल्दैन । आम नागरिकमा सामुहिक भाव, नागरिक कर्तव्यबोध अनि स्व–अनुशासन भयो भने कसरी जस्तोसुकै महामारीसँग पनि जुध्न सकिन्छ भन्ने उदाहरण चिनियाँ जनताले पेश गर्दैछन् । हुन त मानिसहरुको सोच, व्यवहार अनि क्रियाकलापलाई शासन प्रणाली अनि राजनैतिक व्यवस्थाले आकार दिने, नियन्त्रण गर्ने काम त गर्छ नै । खैर जे होस, यहाँ उल्लेख गर्न खोजिएको कुरा भने सेल्फ क्वारेन्टाइनसँग सम्बन्धित छ । जब कि चीनमा अहिले पनि करोडौं जनता सेल्फ क्वारेन्टाइनमा नै बसेका छन् ।

म आफैं पनि सेल्फ क्वारेन्टाइनमा बसेको ५० औं दिनको नजिक छु । यो लागेको छ कि भन्ने भन्दा नि लाग्नबाट बँच्नसँग बढि सम्बन्धित छ । कोरोना भाइरस लागेको छ छैन भन्ने पत्ता लगाउन दुई हप्ताको अवधी पर्याप्त छ तर चाइना भित्र हजारौं मानिसमा सरेको र अहिले पनि सर्ने सम्भावना कायम नै रहेकाले लाग्नबाट बच्न पनि सेल्फ क्वारेन्टाइनमा बस्नैपर्छ । तर सक्रमण नदेखिएको देशमा भने जो व्यक्ति प्रभावित देशबाट फर्किएका छन् दुइ हप्ता बसे पुग्छ ।

सेल्फ क्वारेन्टाइनमा बस्नु भनेको भाइरसबाट आफू सुरक्षित रहन र अरुलाई पनि सुरक्षित बनाउन स्वास्थ्य संस्था, स्वास्थ्य बिज्ञ या डब्लुएचओले सुझाएका बिधिको अनुशरण गर्ने तथा सरकार र यसका निकायहरुले बसाइ, हिडडुल, सार्वजनिक भेटघाट या अन्य यस्तै गतिविधि नियमनको लागि बनाएको नियमको पालना गर्नुसँग सम्बन्धित छ ।

भाईरस फैलिन नदिने, लागेमा नियन्त्रण गर्ने जस्ता काम सरकारको मात्रै प्रयासबाट गाह्रो छ । अझ पर्याप्त  भौतिक तथा दक्ष मानवीय साधन र स्रोतको अभाव भएको हाम्रो जस्तो विकासशील  मुलुकमा त असम्भव नै छ । यस्तोमा पर्याप्त हस्पिटल, स्वास्थ्यकर्मी अनि अन्य भौतिक पूर्वाधार नभएको मुलुकका जनताको भूमिका अत्यधिक रहन्छ । भाइरस लागिसकेपछि प्रभावकारी उपचारमा जनताले आफ्नो तर्फबाट ठूलो योगदान गर्न नसक्लान तर लाग्नु भन्दा पहिले र लागिसकेपछि फैलिन नदिनमा हाम्रो ठूलो भूमिका रहन्छ भन्ने कुरा सबैले बुझौं । अहिलेको प्रतिकूल परिस्थिबाट जोगिने उपायमध्ये सेल्फ क्वारेन्टाइन एक भरपर्दो उपाय हो भन्ने कुरा मनन गर्नु भन्दा नेपालमा यसको नाम सुन्ने बित्तिकै तर्सिएको जस्तो या बिरोध गरेको देखियो ।

हिजो मात्रै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बोलेको कुरालाई लिएर मिडियामा प्रसारित समाचार र सोसल मिडियामा बिरोध देखेपछि के साँच्चिकै कोरोना लागेको व्यक्तिको उपचार नै सरकारले गर्दैन या केहि पनि सरकारले गर्दैन भन्ने बोले त भन्ने कौतुहलता जाग्यो र उनले बोलेको भिडियो खोजेर हेरे, तर उनले बोलेको कुरा गलत या कतै पनि आशय गलत देखिन । उनले भनेको कुरा चीनमा प्रयोग सिद्ध हुँदै गरेको र हामीले त्यसबाट सिकेर अवलम्बन गरेमा एउटा ठुलो खतराबाट जोगिन सक्ने कुरा रहेछ । जुन कुरा मैले ५० औं दिनदेखि गर्दैछु या करोडौं चिनियाँ जनताले गरिरहेका छन् । त्यहि कुरा उनले भनेका रहेछन, यसमा गलत के छ ? आफू जोगिनु छ अनि अरुलाई पनि जोगाउनु छ भने यो त गर्नै पर्ने कुरा हो नि । जुन कुरा गर्नैपर्ने हो त्यस कुराको बिरोध गर्नु या त अज्ञानता हो या त बिरोधका लागि बिरोध हो । सेल्फ क्वारेन्टाइनमा रहनु भनेको सरकार जिम्मेवारीबाट हटेको भन्ने अर्थ हुदैन । यसको अर्थ त हामी थप जिम्मेवार बनेको हो भन्ने कुरा हामी नागरिकले सोच्नुपर्दछ । चीन या अन्य भाइरस प्रभावित देशबाट फर्किएका अमेरिका लगायत अन्य मुलुकका नागरिक पनि अहिले आफैं स्वेच्छिक सेल्फ क्वारेन्टाइनमा बसेका छन, मतलब सरकारले नै सबैतिर व्यवस्था गरेको छैन । जो व्यक्ति प्रभावित देशबाट फर्किएका छन् । रुघाखोकी, ज्वरो जस्ता लक्षण देखिएको छैन र संक्रमित बिरामीको सम्पर्कमा आएको पुष्टि भएको छैन भने आफैं सावधानीपूर्वक सार्वजनिक ठाउँबाट अलग्गिएर बस्नु उचित हुन्छ । अहिले लागेको छ कि भन्ने थाहा पाउन सेल्फ क्वारेन्टाइन, आफूलाई लाग्न नदिन सेल्फ क्वारेन्टाइन अनि आफूलाई लागेको भए अरुलाई सर्न नदिन सेल्फ क्वारेन्टाइन भन्ने बुझ्नुपर्छ ।

अहिलेसम्म नेपालमा भाइरस भित्रिएको छैन, लागेको एकजना तन्दुरुस्त भैसके भन्ने छ । तसर्थ, अब यो रोग भित्रिन नदिन गर्नुपर्ने सबै सावधानी अपनाऔं, यदि भित्रियो भने त्यससँग जुध्ने सबै पूर्व तयारी गरौं । यसका लागि सरकारलाई झक्झक्याउ आफू सावधान बनौं । यसमा प्रत्येक ब्यक्ति सचेत र जिम्मेवार बन्नु आवश्यक छ । डब्लुएचओ तथा स्वास्थ्य संस्थाले दिएका टिप्सको पालना गर्ने तथा सरकार या उसका निकायले बनाएका नियमको अवलम्बन गरेमा मात्र आफू पनि र अरुलाई पनि कोरोना भाइरसबाट सुरक्षित बनाउन सकिन्छ भन्ने सोचले काम गरौं । सरकारको अन्य काम कारवाही, तौरतरिका चित्त नबुझ्न सक्छन् । भाइरसको महामारी देखेर सुनेर अतालिन सकिएला तर अनावश्यक बिरोध र आक्रोश भन्दा पनि जिम्मवारी बोधले काम गरौं । सुरक्षित राख्न रहन सेल्फ क्वारेन्टाइन आवश्यक छ, यसमा ध्यान दिऊँ ।

ऐन बिक्रम कुँवर
हाल बेइजिङ्ग, चाइना

प्रतिक्रिया दिनुहोस्