२८ फागुन २०७६, काठमाडौं
आश्मा अर्याल आफैंमा एक हिरो हुन् । जसले हरेक बालबालिकाको आवाजलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउन सफल भएकी छिन । उनको जन्म नवलपुर जिल्लाको देवचुली नगरपालिकामा भएको हो । उनले अध्ययन पनि देवचुलीमै गरेकी हुन् । उनले आफ्नै क्षेत्रमा रहेर काम गरेकी छिन् । उनले आफ्नो नगरपालिकालाई कसरी बालमैत्री बनाउने कुरामा पनि ध्यान दिएकी छिन् । उनी भन्छिन्, ‘बालक्लबमा रहेर विभिन्न कार्यक्रममा जाने मौका पाइन्छ । जहाँ धेरै भन्दा धेरैसँग चिनजान हुन्छ । अहिले उनी गण्डकी प्रदेशको प्रदेश बाल परिषद् सचिव हुन् ।
आश्माको विचारमा बालक्लब भनेको सिक्ने र सिकाउने ठाउँ हो । यसका साथसाथै आफूमा रहेको प्रतिभा प्रस्फुटन गर्ने ठाउँ हो । आफूभित्र रहेको हिरोलाई चिनाउने र चिन्न मद्दत गर्ने एक राम्रो माध्यम हो–बालक्लब । उनी भन्छिन्, ‘बालक्लबमा रहेर एउटा मात्रै होइन अरु धेरै नयाँ कुरा सिक्ने मौका प्राप्त गर्न सक्छौं ।’
उनलाई बालक्लबमा आउन अग्रज दाईदीदीहरुको कामले हौसला मिलेको हो । सुरुसुरुमा त उनलाई डर लागेको थियो, यदि कतै गल्ती हुने हो कि भनेर तर बिस्तारै उनलाई हौसला मिल्दै गयो । ‘म भित्र धेरै कुराहरु छन् त्यसकारण मैले आफ्नो कुरा बहिर ल्याउनुपर्छ भनेरे महसुस गरे । यसरी नै आफ्नो हिरो चिन्न सफल भए–आश्मा ।
उनी आफूले आफूलाई निकै भाग्यमानी ठान्छिन् । किनकी उनको घर परिवारले उनलाई आफ्नो हिरो चिन्न मद्दत गरेका थिए । आज यहाँसम्म आउनलाई सहयोग गरे । उनी आफ्नो समाजमा रहेका अभिभावकलाई आफ्नो छोराछोरीलाई बाहिरको समाजलाई चिन्ने प्रयासको लागि सधैं सहयोग र प्रेरणा दिनुपर्छ भन्छिन् । छोराछोरी घरभित्र रहेर सुरक्षित हुन्छन् भने एक गलत सोचाइ हो । हरेक अभिभावकले आफ्नो छोराछोरीलाई अनुशासन र सहि संस्कार दिनुपर्छ र उनीहरु भित्र रहेको प्रतिभालाई बाहिर ल्याउन हरेक अभिभावकले महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने उनी बताउँछिन् ।
उनी एशियन गर्ल्स एम्बेसडर २०१८ को मानव अधिकार अवार्डले पनि सम्मानित भएकी थिइन् । यो अवार्ड मुख्यतः बालिकाहरुसँग सम्बन्धित छ । जसमा एसियाको थुप्रै देशका बालिकाहरु भेला हुन्छन् र आफ्नो देशमा भएको हिंसाहरुको बारेमा चर्चा गर्छन् । यो सुनौलो मौका उनले पाएकी थिइन् । त्यसैले जीवनमा हार नखानुस् अबको पालो तपाईंको पनि हुनसक्छ ।
भिडियोमा हेर्नुहोस् आश्मा अर्यालसँगको कुराकानी :