२९ फागुन २०७६, काठमाडौँ
महानायक राजेश हमाल अहिले चलचित्रमा त्यति देखिएका छैनन् । उनलाई चलचित्रबाट अफर नआएका होइनन् तर मुड नभएर हो वा चलचित्रको स्क्रिप्ट नै चित्त नबुझेर हो, उनले कुनै चलचित्र भने साइन गरेका छैनन् ।
तर उनको व्यस्तता भने कत्तिपनि कम भएको छैन । कहिले विदेश त कहिले स्वदेशकै विविध कार्यक्रममा उनी व्यस्त भएकै हुन्छन् । राजेश हमालले नेपाली चलचित्र उद्योगमा ३० बर्ष बिताइसकेका छन् । ३० बर्षको अन्तरालमा उनले थुप्रै चलचित्रमा काम गरिसकेका छन् ।
उनले चलचित्रमा प्राय सबै खालका भूमिका निभाइसकेका छन् । उनी चलचित्रमा कहिले सडक बालक, कहिले पुलिस, कहिले भरिया, कहिले गाउँले त कहिले बिजनेशम्यान पनि बनेका छन् र हरेक क्यारेटरलाई निकै राम्रोसँग निभाएका पनि छन् ।
केहीसमय अघि एक प्रेसमिटमा भेटिएका राजेशले आफ्नो पुरानो दिन सम्झिए । जुन दिनलाई उनी कहिल्यै बिर्सन चाहदैँनन् । राजेश हमाल ठमेलतिर गइरहन्थे । बच्चा भनेपछि हुरुक्कै हुने राजेशले एकदिन ठमेल नजिकै बसेका सडक बालबालिकालाई आइसक्रिम खुवाउने सोच बनाए ।
उनले ती बालबालिकालाई गाडीमा हालेर दरबारमार्ग ल्याए र आइसक्रिम पनि खुवाए । पछि उनले आफ्नै गाडीमा राखेर ती बालबालिकालाई ठमेलतिर नै लिएर जादैँ थिए । त्यत्तिकैमा एक बालके प्रश्न गरे, राजेश दाई हामीलाई किन यत्तिधेरै माया गर्नुहुन्छ ? त्यसको जवाफ दिदैँ अर्को बालकले भने, राजेश दाई पनि पहिला हामी जस्तै खाते त हो नि ।
त्यसबेला राजेश हमाल निकै हाँसेका थिए । वास्तवमा ती बालकले राजेश हमाल सडक बालक बनेको चलचित्र हेरेका रहेछन् । जसका कारण उनले राजेशलाई त्यसो भने ।