३० फागुन २०७६, काठमाडौँ
नव विवाहित जोडी आयुष्मान देशराज जोशी र प्रियंका कार्कीले विवाहपछि ४–४ वटा थर आफ्नो नामको पछाडी राखेका छन् । यो कुरा सुन्दै अचम्म लाग्छ । हुन त विवाहपछि श्रीमतीले श्रीमानको थर ग्रहण गर्नु त हाम्रो परम्परा नै हो ।
तर श्रीमानले श्रीमतीको थर ग्रहण गरेको भने कमै मात्र भेटिन्छ । आयुष्मानले पनि विवाहपछि आफ्नी श्रीमती प्रियंका कार्कीको थर ग्रहण गरेका छन् । प्रियंकाले विवाह लगत्तै इन्ष्टाग्राममा आफ्नोसँगै आयुष्मानको थर थपेकी थिइन् । अहिले आयुष्मानले पनि प्रियंकाको थर थपेका छन् ।
आयुष्मानको थर पहिल्यैबाट तीनवटा थिए । उनका बुवा जोशी हुन् भने आमा देशराज श्रेष्ठ लेख्ने गर्छिन् । आयुष्मानकी आमा रविनाका बुवा पञ्जाबी (देशराज) हुन् भने आमा नेपाली (श्रेष्ठ) हुन् । रविनाका बुवाले पनि आफ्नी पत्नीको थर जोडेर देशराज श्रेष्ठ लेख्ने गर्थे । आयुष्मानको नाममा ‘देशराज’ उनै मावली हजुरबाबाट ट्रान्सफर भएर आएको हो ।
रविनाका पूर्वपति चाहिँ जोशी हुन् । आयुष्मानले बुवा र आमा दुवैको थर प्रयोग गर्दै देशराज जोशी श्रेष्ठ लेख्ने गरेका थिए । अहिले प्रियंकाको कार्की थर पनि थप्नु परेपछि उनले सर्टकटमा लेख्न थालेका छन् । अहिले इन्स्टाग्राममा उनको नाम आयुष्मान डीएसके (देशराज, श्रेष्ठ, कार्की) जोशी छ । प्रियंकाले चाहिँ इन्स्टामा प्रियंका कार्की डीएस जोशी लेख्न थालेकी छन् ।
प्रियंकाकी आमा पनि भारतीय मूलकी नै हुन् । त्यसैकारण आयुष्मान र प्रियंकाले नेपाली संस्कृतिसँगै भारतीय रितिरिवाजलाई पनि अपनाउँदै विवाह गरेका थिए । उनीहरुले पोशाक पनि भारतीय नै लगाएका थिए ।