०१ चैत्र २०७६, काठमाडौं
पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा र सेक्युरिटी प्रेस खरिद प्रक्रियाको विषयमा छानबिन गर्न प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले निर्देशन गरेको छ।
समितिले शुक्रबार (हिजो) जीटूजीमार्फत् सेक्युरिटी प्रेस खरिद प्रक्रिया रोक्न र प्रेस आवश्यक भए सार्वजनिक खरिद ऐनअनुसार प्रतिस्पर्धाका आधारमा टेन्डर प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिँदै यस्तो निर्देशन गरेको हो।
बैठकमा सांसदहरूले राजीनामा दिँदैमा पूर्वमन्त्री बाँस्कोटाको गल्तीलाई क्षमा दिन नसकिने भन्दै छानबिन माग गरेका थिए।
यसैगरी सेक्युरिटी प्रेस खरिदका लागि प्राविधिक इस्टिमेट तयार गर्ने उपसमितिका संयोजक तथा सदस्यहरूसँग जानकारी माग गर्ने निर्णय बैठकले गरेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रेस खरिद सम्बन्धमा लागत इस्टिमेट ठीक छ वा छैन भन्ने अध्ययन गर्न बनाएको प्राविधिक उपसमितिका सबै सदस्यको धारणा बुझ्ने निर्णय बैठकले गरेको थियो।
फाइल तस्वीर