नेकपा काठमाडौं महानगरको दोश्रो संसदीय दलको बैठक सम्पन्न : गरेका कामको उचित प्रचार हुन नसकेको निष्कर्ष



०१ चैत्र २०७६, काठमाडौं

काठमाडौं महानगरपालिकाभित्र भएका सबै काम नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता विद्यासुन्दर शाक्यको नेतृत्वमा भएकोले त्यसको जस नेकपाले लिनुपर्ने पार्टी केन्द्रीय सदस्य जीवनराम श्रेष्ठले काठमाडौं महानगर संसदीय दलको दोश्रो पूर्ण बैठकमा बताएका छन् ।

राम्रो काम गर्दागर्दैै विपक्षी पार्टीद्वारा महानगरकी एकमात्र महिला वडाध्यक्ष शोभा सापकोटा र सिङ्गो नेकपालाई बदनाम गर्न खोजिएकोप्रति नेकपाले प्रतिकार गर्ने समेत श्रेष्ठले बताए ।

नगरप्रमुख तथा महानगर संसदीय दलका प्रमुख विद्यासुन्दर शाक्यले आफू निर्वाचित भएर आउँदा हिलो, धुलो र ढल समस्याले ग्रस्त काठमाडौं महानगरपालिका क्रमशः चिल्ला सडक र धुलोमुक्त हुँदै गएको बताउँदै भूकम्पले क्षतिग्रस्त सम्पदाहरुको पुनर्निर्माणमा महानगरपालिकाले विशेष ध्यान दिएको बताए ।

नेकपा काठमाडौं महानगर कमिटीका अध्यक्ष निर्मल देउलाले पार्टीको विधानको ब्याख्यामा महानगर कमिटीको बारेमा थप प्रष्टता रहेकोले एकीकरण प्रक्रियामा केही ढिलाई भएको बताउँदै त्यसको समाधानमा केन्द्रीय सचिवालयले निर्णय गर्न ढिलो हुँदा सबै तयारी पूरा भएर पनि पार्टी संगठन कमिटी घोषणा गर्न नसकिएको बताए।

केन्द्रिय सचिवालयबाट प्रष्ट ब्याख्या आउनासाथ तत्काल नगरकमिटीले पूर्णता पाउने दाबी समेत भेलामा देउलाले गरे । महानगरपलिकाका प्रमुख विधासुन्दर शाक्यले गरे अनुसारको विकास निर्माणको उपयुक्त प्रचार ब्यवस्थापन गर्न नसक्दा थोरै काम गरेजस्तो देखिए पनि पार्टीको सल्लाह र सहयोगमा नै घोषणापत्रको प्रतिवद्दता पूरा गर्ने बताए ।

एकीकृत नेकपाको शक्तिले अब महानगरका ३२ वटै वडाहरुमा विजयी हासिल गर्ने योजना महानगर कमिटीले बनाएको बताउँदै जनप्रतिनिधिहरुले अझ बढी गतिशील बन्दै जनसेवा समर्पित हुन आग्रह गरे ।

नेकपा महानगर कमिटीका सचिव रवीन्द्र श्रेष्ठले आफ्नो धारणा राख्दै पार्टी एकताको काम सकिनेबित्तिकै महानगरका ३२ वटै वडा जित्ने गरी पार्टीले तयारी गर्ने बताए ।

शाक्यले आफू कम्युनिष्ट पार्टीको कार्यकर्ता भएकोले पार्टीको घोषणापत्र अनुसार कामहरु अगाडि बढाउन खोज्दा पनि कतिपय समयमा प्रमुख प्रशासकीय अधिकृतको असहयोगको कारण सोचजस्तो परिणाम दिन नसकिएको जानकारी दिँदै बाँकी रहेको समयभित्र घोषणापत्रमा उल्लेख भएका प्रतिबद्दताहरु कार्यान्वयन गरिछाड्ने बताए ।

नेकपाबाट निर्वाचित स्थानीय संसदीय दलका सदस्यहरु कृष्णप्रसाद घिमिरे, नरेशमान महर्जन, टेकराज अधिकारी, शुद्धकुमार डंगोल, देवेन्द्र खड्गी, परिवेशमान बज्रचार्य, ध्रुबनारायण मानन्धर, शोभा सापकोटा, नारायणप्रसाद भण्डारी, न्युच्छेकाजी महर्जन, रचना शर्मा, मोहन विष्टलगायतले आफ्नो जिज्ञासा र धारणा राखेका थिए ।

दलका प्रमुख शाक्यले सहभागीले उठाएका प्रश्नको जवाफ दिँदै उपयुक्त सुझावहरु आगामी कार्यपालिका बैठक वा आगामी आर्थिक वर्षको बजेटबाट सम्बोधन गरिने प्रतिबद्धता जनाएका थिए ।

बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा सम्पन्न सफल शल्यक्रियामा संलग्न चिकित्सकहरुको टोलीलाई धन्यवाद दिँदै प्रधानमन्त्री ओलीको शिघ्र स्वास्थ्यलाभको कामना गरेको थियो ।

स्थानीय संसदीय दलको मुख्य सचेतक तथा महानगर प्रवक्ता ईश्वरमान डंगोलले सञ्चालन गरेको कार्यक्रममा नेकपा बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागका सचिव ध्रुबप्रसाद घिमिरेको समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्