देउवा दबाबमा, पौडेल तनावमा, सिटौला द्विविधामा



०२ चैत्र २०७६, काठमाडौं

नेपाली कांग्रेसको १३औं महाधिवेशनमा सभापतिको प्रत्यासी बनेका तीनैजना १४औं महाधिवेशनको तयारीमा आइपुग्दा निकटबाटै अप्ठेरोमा परेका छन् ।

शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पुनः सभापतिको प्रत्यासी बन्ने रणनीतिका साथ अघि बढिरहेका बेला उनीहरूमाथि निकटबाटै पार्टी नेतृत्व अरुलाई हस्तान्तरण गर्न दबाब बढ्न थालेको हो । चार वर्षअघि भएको १३औं महाधिवेशनबाट पार्टी नेतृत्वमा पुगेका देउवाले पूर्वप्रतिबद्धता अनुसार संगठन सञ्चालन गर्न नसकेको भन्दै निकटहरू नै असन्तुष्ट छन् ।

प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा पराजयपछिका दिनमा देउवाको छविलाई लिएर पार्टीभित्र र बाहिर प्रश्न उठिरहेको छ । १३औं महाधिवेशनअघि जस्तो पार्टीभित्र र बाहिरको वातावरण देउवा अनुकूल नरहेको भन्दै उनलाई आफ्नै निकटले पुनः सभापतिको प्रत्यासी नबन्न सुझाउन थालेका छन् ।

अघिल्लो महाधिवेशनमा देउवासँग सभापतिमा हारेका पौडेल पुनः नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने तयारीमा जुटेका छन् । १३औं महाधिवेशनको संघारमा तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि संस्थापन पक्षबाट पौडेल सभापतिको प्रत्यासी भएका थिए ।

त्यसबेला कृष्णप्रसाद सिटौलाका कारण पौडेल अप्ठेरोमा परेका थिए भने अहिले पनि उनले निकटबाटै झमेला बेहोर्नुपर्ने देखिएको छ । चार वर्षअघि पार्टीको मूल नेतृत्वमा दाबी र आकांक्षा नदेखाएका महामन्त्री शशांक कोइराला र नेता शेखर कोइराला अहिले सभापतिको दौडमा देखिएका छन् । शेखरले त देउवा र पौडेलबाट अब पार्टी नचल्ने जिकिरसहित नेतृत्व परिवर्तन हुनुपर्ने बताउँदै आएका छन् ।

तत्कालीन संस्थापन पक्षबाट विद्रोह गरी १३औं महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका पूर्वमहामन्त्री सिटौलाको १४औं महाधिवेशनमा कस्तो भूमिका हुन्छ अझै अझै स्पष्ट भएको छैन । आगामी महाधिवेशनमा पनि आफैं सभापतिको उम्मेदवार बन्ने बताएका सिटौला सभापति देउवा वा इतर कुन पक्षसँग निकट हुन्छन् खुल्न बाँकी छ ।

केही दिनअघि गृह जिल्ला झापा पुगेर सिटौलाले आफू पुनः सभापतिको प्रत्यासी बन्ने संकेत गरे पनि नेतृत्वका लागि दुईजना मात्र उम्मेदावर भए सिटौला प्रत्यासी नबन्ने निकटहरू बताउँछन् । आजको नागरिक दैनिकमा बालकृष्ण अधिकारीले यो समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्