कोरोना विपत : विश्वभर ५ हजार ५ सय व्यक्तिको मृत्यु, १३५ भन्दा बढी मुलुक प्रभावित (अपडेट)



०२ चैत्र २०७६, काठमाडौं

चीनमा गत वर्षको डिसेम्बरमा पत्ता लागेको कोरोना भाइरसको प्रभाव सुरूमा केही एशियाली मुलुकमा देखिए पनि पछिल्ला दिनहरूमा आइपुग्दा यूरोप हुँदै अमेरिकासम्म पुगेको छ ।

कोभिड–१९ को सङ्क्रमणका कारण शनिबारसम्म पाँच हजार ५४७ व्यक्तिको मृत्यु भइसकेको छ । यसमध्ये सबैभन्दा बढी चीनमा तीन हजार १७६ व्यक्तिको मृत्यु भएको छ भने पछिल्ला केही दिनमा चीनमा नयाँ व्यक्तिमा सङ्क्रमण र मृत्यु दर लगभग नियन्त्रणको नजिक पुगेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी गराएको छ ।

शनिबारसम्ममा कोरोना भाइरसको सङ्क्रमण १३५ भन्दा बढी मुलुकमा पुष्टि भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । चीनपछि बढी प्रभावित मानिएको इटली र इरानमा सङ्क्रमणका कारण क्रमशः एक हजार २६६ र ६११ व्यक्तिको मृत्यु भएको छ । केही समय पहिले चीनको वुहान सहर कोरोना भाइरसको केन्द्रविन्दु मानिएको थियो तर प्रभावितहरूको सङ्ख्या निकै वृद्धि भएपछि विश्व स्वास्थ्य संगठनले हालको अवस्थामा यूरोपलाई सङ्क्रमणको केन्द्रविन्दु मानेको छ ।

प्रतिक्रिया दिनुहोस्