०२ चैत्र २०७६, काठमाडौं
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस पश्चिम नवलपरासीका जिल्ला सभापति अर्जुन पोख्रेललाई हटाएर विष्णु पौडेललाई नयाँ सभापतिको जिम्मेवारी दिइएपछि पार्टी सभापति शेरबहादुर देउवानिकट जिल्लाका १५ नेताले देउवा क्याम्प छोडेको घोषणा गरेका छन्।
यसअघि सबै देउवा पक्ष रहेका १५ नेताहरुले १७ सदस्यीय पश्चिम नवलपरासी जिल्ला कार्य समितिबाट देउवा क्याम्प छोडेको घोषणा गरेका हुन्।
देउवानिकट मानिने पूर्व सांसद विक्रम खनाल, पार्टी सभापतिबाट हटाइएका अर्जुन पोख्रेल, सुनवल नगरपालिकाका मेयर भीमबहादुर थापा, रामग्राम नगरपालिकाका मेयर नरेन्द्र गुप्ता, पार्टी प्रवक्ता कुलदीप आचार्य, जिल्ला पार्टी सचिव विक्रम यादवलगायतले देउवा क्याम्प छोडेको घोषणा गरेका हुन्।
पार्टी महामन्त्री शशांक कोइरालाको निर्वाचन क्षेत्रसमेत रहेको नवलपरासीमा सभापति रहेका पोख्रेललाई हटाएर पौडेललाई सभापति तोकिएपछि देउवाको महामन्त्री कोइराला, बरिष्ठ नेता रामचन्द्र पौडेल, अर्जुन नरसिंह केसीलगायतले देउवाको कदमको खुलेर विरोध गरेका छन्।
अघिल्लो साता रामचन्द्र पौडेलले बोलाएको असन्तुष्ट जिल्ला सभापतिको भेलामा समेत नगएका पार्टी सभापति पोख्रेललाई आफ्नो पक्षमा काम नगरेको भन्दै कँडेलको डिजाइनमा सभापतिबाट बर्खास्त गरिएको स्थानीय नेताहरुले दाबी गर्दै आएका छन्।