०२ चैत्र, २०७६, काठमाडौं
कार्यक्रम ‘स्थानीय सवाल’को यो अंकमा हामीले संखुवासभाको मकालु गाउँपालिकाकी उपाध्यक्ष चमेली राईसँग कुराकानी गरेका छौं।
कुराकानीको क्रममा हामीले कार्यक्रमको नामजस्तै स्थानीय विशेष संवाद गरेका छौं।
संवादमा गाउँपालिकामा भएका विकास निर्माणका कामहरु, गाउँपालिकाको भावी योजनासँगै यी यावत् विषयलाई समेटेका छौं।
प्रस्तुत छ, यो कराकानी-
प्रश्न : तपाईँको राजनीतिक पृष्ठभूमिबारे बताइदिनुस्।
उत्तर : त्यस्तो ठूलो राजनीतिज्ञ त होइन म। सानैदेखि राजनीतिक क्षेत्रमा चासो अनि जनाहरुको दुःख, सुखमा साथ दिँदै आएकोले जनताहरुले मलाई जिताउनुभयो। त्योसँगै राजनीतिमा लागियो। नभन्दै यहाँसम्म निर्वाचित भएर आइपुगियो।
प्रश्न : राजनीतिमा आउनुभन्दा अगाडि चाहिँ यहाँको पोर्टफोलियो के थियो?
उत्तर : म त्योभन्दा अगाडि एक सानो व्यावसायी थिएँ। सानोतिनो पसलहरु थियो।
प्रश्न : जनताहरुले प्रत्यक्ष रुपमै महसुस गर्ने गरी के के गर्नुभएको छ, निर्वाचित भइसकेपछि?
उत्तर : चुनाव १४ गते भयो। त्यसपछि हामीले २९ गते शपथ लियौं। त्यसपछि गाउँपालिकामा एकदमै ठूलो काम गर्ने लक्ष्य त लिइयो। तर, पनि हामीसँग त्यक्तिबेला कानून, ऐन बनिसकेको थिएन। संघ र प्रदेशको निर्वाचनसम्म हामीले अन्यौलमा गाउँपालिका (स्थानीय तह) सञ्चालन गर्यौं। गाउँपालिकामा अहिलेसम्म आउँदाखेरि सबै वडा कार्यालयहरु बनाइसकेका छौं। त्यस्तै गाउँपालिकाको प्रशासनिक भवन पनि आफ्नै बनाइयो। स्वास्थ्य चौकीहरु बनाएका छौं। सामुदायिक स्वास्थ्य इकाइहरु बनाएका छौं। त्यस्तै गरी गाउँपालिकासँग जोडिने गरी ट्र्याक ओपन गरिएको छ। त्यस्तै गरी पर्यटन पाटोमा पनि हामीले सम्भावना बोकेको ठाउँहरुलाई प्रवर्ध्दन गर्दै आएका छौं।
प्रश्न : जनताहरुले सडक सञ्जाल विस्तार भएको खण्डमा बल्ल विकास भयो भनेर सोच्छन्, सडकको स्थिति कस्तो छ तपाईँको गाउँपालिकामा?
उत्तर : हामी निर्वाचित हुनुभन्दा अगाडिसम्म सडकको स्थिति त शून्य नै थियो। हामी निर्वाचित भएपछि गाउँपालिका केन्द्रदेखि सबै वडा कार्यालयहरुसम्म पुग्ने ट्र्याक ओपन गरिसकेका छौं। त्यस्तै बाँकी रहेका विशेष ठाउँको पनि डीपीआर भने बनिसकेको छ। त्यो यो सालमा पूरा गर्नेछौं।
प्रश्न : संखुवासभाको मकालु गाउँपालिका हिमाली जिल्ला हो। हिमाली जिल्ला भन्ने बित्तिकै पर्यटनको केही सम्भावनाहरु हुन्छन् भन्ने हुन्छ। तपाईँहरुले यसबारे कसरी सोच्नुभएको छ?
उत्तर : हाम्रो गाउँपालिका एकदमै पर्यटनको सम्भावना बोकेको ठाउँ हो। मैले भन्दै आएको छु, ‘स्वार्ग कहाँ छ भन्दा हाम्रो गाउँपालिकामा छ’ भनेर। गन्ती नभएका हजारौं पोखरी, तालतलैयाहरु हजारौं छ। त्यस्तै हिमालहरु टन्न छन्। झनै मकालु हिमाल त त्यहीँ नै छ। हामीले सडकरहित पर्यटन बनाउने सोचमा छौं।
प्रश्न : देश संघीयतामा गएसँगै तीन तहको सरकार बन्यो। र तपाईँहरु निर्वाचित (स्थानीय तह) गाउँपालिकामा हुनुभयो। कति सजिलो छ, पहिलोचोटी निर्वाचित भएर काम गर्नलाई?
उत्तर : संघीयतासँगै सिंहदरवारको अघिकार गाउँ गाउँमा भनियो। तर सिंह पठाइयो, दरवार यतै रह्यो। हिजो जत्ति पनि अधिकार प्रत्योयोजन गरिएको थियो, स्थानीय तहमा। तर, अहिले संघले सबै अधिकारहरु दिएन। तर, अहिले सबै नयाँ नयाँ कानून, ऐनहरु बन्छन्। हामीलाई सहज हुने गरी कुनै पनि कानूनहरु बन्दैनन्। जनताको गाली खाने ठाउँमा हामी छौं। मूल सरकार त, यहाँ सुखमा छ।
प्रश्न : भन्नुको अर्थ संघीय सरकारले के अझै स्थानीय तहलाई बाँध्न खोजेको हो?
उत्तर : त्यो त स्वतः हो। केन्द्रीय र प्रदेशसँग नबाझिने गरी कानून अधिकार बनाउ भन्छ। तर, संघ कुनै न कुनै पाटोबाट तलको तहलाई बाँध्ने काम हुन्छ। तपाईँ पर्यटनको कुरा गर्नुहुन्छ। सबै यही केन्द्रले नै हडपेको छ। त्यही हाम्रो वडा नं. १ मा रहेको मकालु हिमालको रोयाल्टी यहाँ काठमाडौंमा तिर्नुपर्छ। हाम्रो गाउँपालिकामा छैन। खोइ के छ र? हाम्रो गाउँपालिकालाई? हामी उही हेर्ने मात्रै त होनी। कारण हामीसँग अधिकार छैन। संघले राम्रो अधिकार दिएँ भन्ने सोचेको मात्रै हो।
प्रश्न : नयाँ सरंचनामा पहिलो पटक निर्वाचित भएर काम गर्दै गर्दा कति चूनौती छ?
उत्तर : हामी शून्यदेखि उठेर आएको। हामीभन्दा अगाडि स्थानीय तहमा कोही पनि थिएन। हामीले आफैँले नै सिकेर गर्नुपर्ने थियो। त्यो भएर पनि काम गर्न एकदमै कठिन भयो। त्योमाथि झनै म त एक्लो भएँ। गाउँपालिका अध्यक्ष दुर्घटनामा बित्नुभएपछि झनै गाह्रो भयो। त्यो बेला न गाउँपालिका कार्यालय थियो। न कर्मचारीहरु थिए। तर, अहिले सु–सम्पन्न छ, गाउँपालिका। करारमै भएपनि कर्मचारी टन्न छन्। त्योबेला मलाई सहयोग गर्नेभन्दा पनि यसले कसरी गर्छ भनेर हेर्नेहरु बढी थिए। तर, पछि आफ्नै भिजनले सबै काम गर्न थालियो। अहिले राम्रो छ।
प्रश्न : तपाईँले निर्वाचनताका गर्नुभएको चुनावी घोषणापत्रसँग मिल्नेगरी काम गर्नुभएको छ?
उत्तर : मेरो त घोषणा पत्र नै थिएन। मैले भोट माग्दा यसले केही गर्छ जस्तो लाग्छ भने भोट दिनुस्, नभए ठिकै छ भनेर भनेकी थिएँ। तर, पछि मैले सबैभन्दा धेरै भोट ल्याएँ।
प्रश्न : ‘सिंह पठाइयो, दरवार चाहिँ यतै नै रह्यो’ यो तपाईँको भनाईलाई प्रष्ट पार्नुहुन्छ?
उत्तर : अधिकारहरु धेरै नै माथि छन्। हामीले यता केही गर्न खोज्दा केही न केही बाधा अड्चनहरु आउँछन् नै। त्यही भएर मलाई लाग्छ, अझै पनि अधिकारहरु यतै नै छन्। राम्रो गर्न खोज्दा हामीलाई कानूनले बाँध्छ। यो चाहिँ दरवारबिनाको सिंहजस्तै भयो।
प्रश्न : तपाईँ पनि अहिले यही केन्द्रीय दरवारमा हुनुहुन्छ, यानकी राजधानीमा हुनुहुन्छ, कति कामको लागि?
उत्तर : पुरानो राजधानी, अहिलेको हाम्रो ठूलो दरवार। सम्पूर्ण मन्त्रीहरुको बासोबास रहेको क्षेत्र। तर, मैले कोही पनि मन्त्रीज्यूहरुलाई भेटेको छैन। र भेट्दिन पनि। प्रायःजसो उहाँहरुसँग फोनमै कुराकानी हुन्छ। तर, कतिपय मन्त्रीहरुलाई कति सचिवज्यूहरुले पनि घुमाउनुहुँदोरहेछ। यहाँ म आफ्नै गाउँपालिकाको प्रशासनिक कामको लागि आएकी थिएँ। अहिले हाम्रो गाउँपालिकामा डाक्टर छैन। झनै विशेषगरी प्रशासकीय अधिकृत नै छैन। हाम्रो प्रशासनिक कामउपर चुनावबाट लगभग ठप्प छ। गाउँपालिकामा तलबहरु खुवाउनु नसकेर एकदमै समस्या भएको छ। यी यावत् कुराहरु माननीयज्यूहरुले बुझिदिनुभएन। उहाँहरुले आफ्नो दुःख बुझ्नेभन्दा पनि अझ बढाउने काम मात्रै गर्नुहुँदोरहेछ।
प्रश्न : तपाईँसँग भावी योजनाहरु कस्ता कस्ता छन्?
उत्तर : हिजोको दिनमा गरिएकोभन्दा भोलिका दिनमा गरिने काम राम्रो होस् भन्ने चाहना सबैको हुन्छ। हामीले पनि यो सोचेका छौं। उपचुनावबाट अध्यक्षज्यू निर्वाचित भएर आउनुभएको छ। मैले उहाँलाई साथ दिने हो। मेरो तर्फबाट चाहिँ सँधै गाउँपालिकालाई चुस्त दुरुस्त राख्ने, जनताहरुलाई सु–सूचित गर्ने नै सोच छ।