कोरोनाको सन्त्रासबाट भारतमा ७ सय चिकित्सक बेपत्ता



०३ चैत २०७६, एजेन्सी

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सन्त्रासबाट चिकित्सक नै आतंकित भएका छन्।

भारतको उत्तर प्रदेशमा विभिन्न अस्पतालबाट करिब ७ सय चिकित्सक बेपत्ता भएको समाचार भारतीय मिडियाले प्रकाशन गरेको छ।

उपचार गर्न छोडेर अस्पतालबाट भाग्ने चिकित्सकविरुद्ध कडा कारवाही हुने जनाइएको छ। मुलुकमा कोरोना भाइरस संक्रमण बढिरहेको समयमा उपचारमा खटिनुपर्ने चिकित्सक नै हराएपछि चिकित्सक विभागले लापरवाही गरेको भन्दै त्यहाँको सरकारले आपत्ति जनाएको छ।

समाचारमा जनाइएअनुसार उत्तर प्रदेशका धेरै जिल्लामा ड्युटीमा रहेका धेरै चिकित्सकले जानकारीबिना नै काम छोडेका छन्। कोरोना भाइरसको ड्यूटीमा रहेका चिकित्सकमाथि निगरानी गर्दा युपीका धेरै जिल्लाका स्वास्थ्य केन्द्रमा करिब ७ सय चिकित्सक ड्युटी बाहिर रहेको पुष्टि भएको हो।

निर्देशनालयले जानकारीबारे सोधीखोजी गर्दा उनीहरु जानकारी बिना नै अस्पताल छोडेको पाइएको हो। सरकारले त्यस्ता चिकित्सकको बर्खास्त प्रक्रिया सुरू गरेको छ। स्वास्थ्य मन्त्रालयका अधिकारीका अनुसार हराइरहेका चिकित्सकलाई अर्को एक महिनाभित्र बर्खास्त गरिनेछ।

प्राप्त जानकारी अनुसार चिकित्सकले या त अन्य ठाउँमा काम गर्न थालेका छन् वा उनीहरू कोरोनाको त्रासमा काम गर्न नसकेको हो। स्वास्थ्य मन्त्री जयप्रताप सिंहले भने अब यी हराइरहेका डाक्टरविरुद्ध कडा कारबाही गर्ने निर्णय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्