०३ चैत्र २०७६, काठमाडौं
नेपाल आएका ३५ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फिर्ता भएका छन्।
सरकारले विदेशी नागरिक, गैरआवासीय नेपाली र काम विशेषले नेपाल प्रवेश गर्न चाहनेका लागि निश्चित मापदण्ड बनाएको छ।
कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले लागू गरेको नियम नमान्ने ३५ जनालाई सम्बन्धित ठाउँमा नै फिर्ता पठाइएको अध्यागमन कार्यालयले जनाएको छ।
विमानस्थलस्थित प्रमुख अध्यागमन अधिकृत सागर आचार्यले आज दिउँसोसम्ममा ३५ जनालाई सम्बन्धित देशमै फिर्ता पठाइएको जानकारी दिए।
सरकारले विदेशी नागरिकलाई ‘स्वाब रिपोर्ट’सहित सम्बन्धित देशमा रहेको नेपाली कन्सुलर सेवाबाट भिसा लिनुपर्ने व्यवस्था गरेको छ।
गैरआवासीय नेपालीले पनि सात दिनअघिसम्मको ‘स्वाब रिपोर्ट’सहित सम्बन्धित देशमा उपलब्ध नेपालको कन्सुलर सेवाबाटै भिसा लिनुपर्ने व्यवस्था गरेको छ।
त्यस्तै विदेशमा गएका नेपाली स्वदेश फिर्ता हुँदा ‘स्वाब रिपोर्ट’ लिएर आउनुपर्ने व्यवस्था सरकारले गरेको छ।
अध्यागमनबाट फिर्ता भएका ३५ जनामा धेरै गैरआवासीय नेपाली संघमा आवद्ध नेपाली मूलका विदेशी नागरिक छन्।
उनीहरुले भिसा नेपालमै लगाउने भन्दै नेपाल आएको पाइएको छ।
कुन देशबाट कति जना फिर्ता?
फ्रान्स ६
चीन ५
बेलायत ५
जापान ४
नेदरल्याण्डस् ३
इटली २
इजरायल २
चेक रिपब्लिक २
हङकङ १
अमेरिका १
मेक्सिको १
अफगानिस्तान १
अष्ट्रेलिया १
मलेसिया १
फाइल तस्वीर