०६ चैत्र २०७६, काठमाडौं
अब बिजुली, मालपोत र यातायातको बिल तिर्न ढिला भए जरीवाना नलाग्ने भएको छ।
कोभिड १९ (कोरोना भाइरस)को सन्त्रासका कारण सरकारले सरकारी कार्यालयमा शुल्क तिर्न ढिलो भएबापत्को जारिवाना नलाग्ने भएको हो।
सरकारले रोकथाम तयारीबारे गरेका पछिल्ला निर्णय लागू गर्ने क्रममा बिहीबार (आज) यस्तो निर्णय भएको हो।
गृह मन्त्रालयमा बसेको बैठकले बिलम्ब शुल्क लाग्ने अवस्था भएमा सरकारले मिनाहा गर्ने व्यवस्था मिलाउने आग्रह गर्दै भीडभाडमा नजान सर्वसाधारणलाई आग्रह गर्ने निर्णय गरेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए।
बुधबार मात्रै सरकारले २५ जना भन्दा बढी एक ठाँउमा भेला नहुन निर्देशन दिएको थियो।