०७ चैत्र २०७६, काठमाडौं
नेपाल सरकारले कोभिड १९ (कोरोना भाइरस) संक्रमणको जोखिम न्यूनीकरण तथा रोकथामका लागि आवश्यक अनुभव आदान-प्रदान र मेडिकल सहयोगको माग गर्दै चीनलाई औपचारिक पत्राचार गरेको छ।
चीन सरकारले आवश्यक मेडिकलदेखि प्राविधिक जनशक्तिसहितको सहयोग दिने प्रस्ताव नेपाल सरकारलाई गरेको थियो।
नेपालले सहयोग लिने सूचीको विषयमा भने दुई मुलुकका स्वास्थ्य अधिकारीबीच शुक्रबार भिडिओ कन्फेरेन्स्मार्फत् छलफल हुँदैछ।
त्यसक्रममा अनुभव आदानप्रदान र सहयोगको विषयमा कुरा हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए।
कोरोना भाइरस शुरुमा चीनकै वुहान प्रान्तबाट विश्वभर फैलिएको थियो। अहिले चीनमा यसको संक्रमण शून्य रहेको त्यहाँका स्थानीय समाचार संस्थाहरुले जनाएका छन्।
तस्वीरमा नेपाल र चीनको झण्डा। फाइल तस्वीर।