०७ चैत्र २०७६, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘देशवासी’को नाममा सम्बोधन गरेका छन्।
प्रधानमन्त्री ओलीले शुक्रबार (आज) साँझ ‘देशवासी’को नाममा सम्बोधन गर्दै सरकार ‘देशवासी’को सुरक्षाका लागि प्रयत्नशील गरेको बताएका छन्।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले केही घोषणासमेत गरेका छन्।
सम्बोधनका सात महत्वपूर्ण बुँदाः
– नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाइ उडानहरु आगामी चैत ९ गते देखि १८ गतेसम्मको लागि स्थगित गरिएको छ।
– सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने छ। यस सम्बन्धमा छिमेकी मित्रराष्ट्रहरुसंग आवश्यक समन्वय गरिने छ।
– देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिएअनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ।
– आगामी चैत १० गते देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ।
– मानिसहरुको भीडभाड हुने स्थान सिनेमा घर आदि हाललाई बन्द गरिएको छ।
– विद्यालय तथा विश्वविद्यालयका पठन पाठन तथा परीक्षाहरु हाललाई स्थगित गरिएको छ।
– महामारीको अवस्थालाई हेरी, यहाँहरुकै सहयोगमा थप कदमहरु पनि चाल्न सकिने छ।
तस्वीरमा प्रधानमन्त्री केपी शर्मा ओली ‘देशवासी’को नाममा सम्बोधन गर्दै। सौजन्य : नेपाल टेलिभिजन।