०८ चैत्र २०७६, काठमाडौं
कोभिड १९ (कोरोना भाइरस)को संक्रमण बढ्न नदिन सरकारले उच्च सतर्कता अपनाउँदै केही दिन अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेपछि काठमाडौं उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार शनिबार बिहान ६ बजेदेखि १२ बजेसम्ममा एक लाख आठ हजार ६८५ जना काठमाडौंबाट बाहिरिएका हुन्।
विगतको तुलनामा यो संख्या बढी रहेको ट्राफिक प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठको भनाइ छ। चैत १० गतेबाट लामो दूरीका यातायातका साधन चल्न प्रतिबन्ध लगाउने भएपछि काठमाडौं छाड्ने बढेका हुन्।
हिजो दिनभरमा एक लाख ३० हजारले काठमाडौं उपत्यका छाडेका थिए।
तस्वीरमा काठमाडौंबाट गाउँ फर्किन लागेका यात्रुहरु। परिवर्तन खबर।