नेपाल सरकारको प्रतिबन्ध उल्लंघन गर्दै विदेशी एयरलाइन्सले ल्याए ५५ नेपाली



०८ चैत्र २०७६, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस)को सम्भावित जोखिमलाई न्यूनीकरण गर्न सरकारले लगाएको अस्थायी प्रतिबन्ध उल्लंघन गर्दै एयर एसिया र थाइ एयरवेजले ५५ नेपालीलाई विभिन्‍न मुलुकबाट लिएर आएका छन्।

सरकारी निर्णय उल्लंघन गर्दै ती एयरलाइन्सले जापान, मलेसियालगायत मुलुकबाट ल्याएर शनिबार (आज) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गराएका हुन्।

विमानस्थल ओर्लिएका सबै नेपालीलाई खरिपाटीस्थित क्वारेन्टाइनमा पठाउने तयारी भइरहेको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताएका छन्।

आफूखुसी नेपाल आएका उनीहरु १४ दिन क्वारेन्टाइनमा बस्ने र त्यस अवधिसम्म उनीहरुले नै खर्च व्यहोर्नुपर्ने पौडेलको भनाइ छ।

नेपालको स्वीकृतिबिना विदेशबाट मानिस ओसारेको विषयमा नागरिक उड्ययन प्राधिकरणका पदाधिकारीलाई मौखिक स्पष्टीकरण मागिएको पौडेलले बताए।

यस्तै महानिर्देशक पौडेलले नागरिक उड्ययन प्राधिकरण र विमानस्थल व्यवस्थापनसँग जवाफ मागेको र अटेर गरेर अवतरण गरिए विमानस्थलबाटै जुन देशबाट आएको हो, सोही मुलुकतर्फ विमान फिर्ता गरिने बताए।

तस्वीरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल। फाइल तस्वीर।

प्रतिक्रिया दिनुहोस्