भयावह कोरोना : इटालीमा मात्रै ५,००० जनाले ज्यान गुमाए



०९ चैत्र २०७६, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस)को संक्रमणबाट यूरोपमा मात्रै मृत्यु हुनेको संख्या करिब ९ हजार नाघेको छ।

कोभिडको नयाँ इपिसेन्टरको रुपमा लिइएको इटाली, जर्मनी, स्पेन र बेलायतमा उक्त भाइरसको संक्रमण र मृतकको संख्या बढेको बढ्यै छ।

आइतबार मात्रै इटालीमा थप ६ सय ५१ जनाको मृत्यु भएको त्यहाँका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

त्यस्तै आइतबार थप ५ हजार ५ सय ६० जनामा संक्रमण देखिएको छ।

शनिबारको तुलनामा केही कम भए पनि इटालीमा मृतक र संक्रमितको संख्या उही अनुपातमा बढिरहेको छ।

आइतबार अहिलेसम्मकै बढी ७ सय ९३ जनाको मृत्यु भएको थियो।

सोमबार बिहानसम्म इटालीमा मृत्यु हुनेको संख्या ५ हजार ४ सय ७६ पुगेको छ भने ५९ हजार १ सय ३८ जना संक्रमित भएका छन्।

त्यस्तै युरोपेली मुलुक स्पेनमा पनि मृत्यु हुनेको संख्या १ हजार ७ सय ५६ पुगेको छ।

आइतबार इटालीपछि स्पेनमा सबैभन्दा बढी ३ सय ७५ को मृत्यु भएको छ।

स्पेनमा आइतबार ३ हजार १ सय ७ संक्रमित थपिएका छन्।

सोमबार बिहानसम्म स्पेनमा संक्रमितको संख्या २८ हजार ६ सय ३ रहेको छ।

त्यस्तै फ्रान्समा पनि आइतबार मात्रै थप ११२ जनाको मृत्यु भएको छ भने एक हजार ५ सय ५९ जनामा संक्रमण देखिएको छ।

फ्रान्समा अहिलेसम्म मृत्यु हुनेको संख्या ६ सय ७४ पुगेको छ भने संक्रमितको संख्या १६ हजार १८ जना संक्रमित भएका छन्।

यसैगरी आइतबार बेलायतमा ४८, नेदरल्यान्ड्समा ४३, जर्मनीमा १०, बेल्जियममा ८ र स्विजरल्यान्डमा १८ जनाको मृत्यु भएको छ।

त्यस्तै पश्चिम एसियाली मुलुक इरानमा आइतबार मात्रै १२९ जनाको मृत्यु भएको छ भने एक हजार २८ जनामा संक्रमण देखिएको छ।

सोमबार बिहानसम्म इरानमा मृत्यु हुनेको संख्या एक हजार ६ सय ८५ पुगेको छ भने २१ हजार ६ सय ३८ जनामा संक्रमण देखिएको छ।

त्यस्तै अमेरिकामा पनि आइतबार अहिलेसम्मकै बढी ११७ जनाको मृत्यु भएको छ।

आइतबार मात्रै अमेरिकामा ९ हजारभन्दा बढीमा संक्रमण देखिएको छ।

सोमबार बिहानसम्म अमेरिकामा मृत्यु हुनेको संख्या ४१९ पुगेको छ भने संक्रमितको संख्या ३३ हजार ५ सय ४६ रहेको छ।

सोमबार बिहानसम्म चीनमा ३ हजार २ सय ६१ जनाको मृत्यु भएको छ भने ८१ हजार ५४जनामा संक्रमण देखिएको छ।

पछिल्लो समय चीनमा संक्रमण र मृत्यु हुनेको संख्या निकै घटिरहेको छ।

चीनमा ७२ हजारभन्दा बढी व्यक्ति निको भइसकेको त्यहाँको स्वास्थ्य आयोगले जनाएको छ।एजेन्सी

आइतबारको तथ्यांक [मृत्यु[
इटाली– ६५१
स्पेन – ३७५
इरान– १२९
फ्रान्स – ११२
अमेरिका– ११७
बेलायत– ४८
नेदरल्यान्ड्स – ४३
जर्मनी – १०
बेल्जियम – ८
स्विजरल्यान्ड – १८
दक्षिण कोरिया – २
इन्डोनेसिया – १०
टर्की -९
ब्राजिल – ८
फिलिपिन्स – ६
इजिप्ट- ४
रोमानिया, इराक – ३
हंगेरी, भारत, अल्जेरिया, पोल्यान्ड, ग्रीस, मलेसिया, ट्युनिसिया, पोर्चुगल – २/२
स्विडेन, क्यानडा, गुआम, चेक गणतन्त्र, बुर्किनाफासो, एन्डोरा, मोरक्को, नर्थ म्यासेडोनिया, सर्बिया। बहराइन, पाकिस्तान, अफगानिस्तान, सर्बिया – १/१

तस्वीरमा इटालीको टुरिनमा ‘कोरोना संक्रमण जाँच गरिँदै। श्रोत : रोयटर्स।

प्रतिक्रिया दिनुहोस्