भयावह कोरोना : अहिलेसम्म १४,६८५ बढीको मृत्यु



१० चैत्र २०७६, काठमाडौं

चीनको ऊहान शहरबाट सुरु भएको कोरोना भाइरस संक्रमण संसारको १ सय ८६ भन्दा बढी देशमा फैलिसकेको छ । यसको संक्रमणले १४ हजार ६ सय ८५ जनाको मृत्यु भएको छ ।

यो संक्रमणको सुरुवात चीनबाट सुरु भएपनि मृत्यु र संक्रमणको आँकडा हेर्ने हो भने इटली सबैभन्दा धेरै प्रभावित देश हो । आइतबार यहाँ ६ सय ५१ जनाको मृत्यु भएको छ । इटलीमा कोरोना भाइरसले अहिलेसम्म ५ हजार ४ सय ७६ जनाको मृत्यु भइसकेको छ ।

यस्तै चीनको हुबेई प्रान्तमा मृतकको संख्या ३ हजार १ सय ५३ पुगेको छ । यसबाहेक स्पेनमा १ हजार ७ सय ७२, इरानमा १ हजार ६ सय ८५ र फ्रान्समा ६ सय ७४ जनाको मृत्यु भएको छ ।

संसारभरी तीन लाख बढी संक्रमित देखिएका छन् । संक्रमित व्यक्तिको संख्या सबैभन्दा धेरै चीनमा छ । चीनमा ८१ हजार ४ सय २६ संक्रमित देखिएका छन् भने इटलीमा ५९ हजार १ सय ३८, अमेरिकामा ३३ हजार २ सय ७६, स्पेनमा २८ हजार ७ सय ६८ र जर्मनीमा २४ सय ८ सय ७३ घटना पुष्टि भएका छन् ।

भारतमा यो संक्रमणका कारण अहिलेसम्म ७ जनाको मृत्यु भइसकेको छ भने ३ सय ६० जना संक्रमित पाइएका छन् । कोरोना फैलन थालेपछि भारतले २२ राज्यको ७५ जिल्लामा ३१ मार्चसम्म लकडाउन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्