०९ चैत्र २०७६, काठमाडौं
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कोभिड १९ (कोरोना भाइरस)को महामारीविरुद्ध लड्न नेपाल सरकारद्वारा गठित ‘केन्द्रीय राहत कोष’मा एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
उक्त रकम उपचार तथा अन्य उपकरणसँगै औषधिजन्य सामाग्री सहज गर्न गठित केन्द्रीय कोषमा जम्मा गर्ने संघका प्रवक्ता डीबी क्षेत्रीले बताएका छन्।
संघको बैठकले कोषाध्यक्ष महेकुमार श्रेष्ठको संयोजकत्वमा कोरोना पीडित राहतकोष संकलन समिति समेत गठन गरेको प्रवक्ता क्षेत्रीले बताए।
यस्तै संघले उपाध्यक्ष बद्री केसीको संयोजकत्वमा भौतिक सामग्री सहयोग संकलन उपसमिति गठन गरेको छ।
संघले विश्वभर छरिएका आफ्ना शाखामार्फत् कोरोनापीडित नेपालीको तथ्यांक संकलन गर्नेसमेत तयारी गरेको छ।
यसअघि संघले कोरोना भाइरस संक्रमितको सहयोगार्थ अध्यक्ष कुमार पन्तको अध्यक्षतामा एक उच्चस्तरीय समिति गठन गरेको थियो।
मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले शुरुमा सरकारको तर्फबाट ५० करोड रुपैयाँ राखेर कोष खडा गरेको थियो।
फाइल तस्वीर।