१० चैत्र २०७६, काठमाडौँ
छिमेकी राष्ट्र भारतमा कोरोना भाइरस का कारण केही व्यक्तिको ज्यान गएपछि नेपालमा कोरोनाको त्रास बढ्दै गएको छ । सरकारले जनतालाई घरमै बस्न आदेश समेत दिइरहेको छ । यस्तै चलचित्र प्रेमगीत ३ ले कोरोनाको त्रास बढेसँगै सर्वसाधारणलाई ११ हजार मास्क वितरण गरेको छ ।
बजारमा मेडिकल मास्क अभाव भएपछि फिल्मको टिमले निःशुल्क मास्क वितरण गरेको हो । आइतवार दिउँसो फिल्मका निर्माता सन्तोष सेन, अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङले कोटेश्वर, लगनखेल र गोंगबु क्षेत्रमा मास्क बाँडेका हुन् ।
आइतवार मात्र ११ हजार मेडिकल मास्क वितरण गरिएको निर्माता सेनले फेसबुकमार्फत् जानकारी दिए । उनले भने, ‘बजारमा मास्क अभाव भएको थाहा पाएपछि देशको एक जिम्मेवार नागरिक भएको हैसियतले मास्क वितरण गरेका हौं । यो मुश्किल परिस्थितिमा कुनै पनि बेला सरकारलाई आवश्यक पर्छ भने हाम्रो फिल्म ‘प्रेमगीत ३’ को सम्पूर्ण टिम सहयोग गर्न तयार छ ।’
मास्क वितरण गरेसँगै चलचित्रका निर्माता तथा कलाकारले कोरोना भाइरसबाट बच्न सर्वसाधारणलाई आग्रह पनि गरेका छन् । उनीहरुले सकेसम्म घरमै बसेर आफ्नो स्वास्थ्यको ख्याल गर्न पनि दर्शकलाई अनुरोध गरेका छन् । कोरोनाकै कारण प्रेमगीत ३ को प्रदर्शन मिति केही समयको लागि पछाडी सारिएको छ ।