१० चैत्र २०७६, काठमाडौँ
नायिका निता ढुङ्गानाले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै कोरोनालाई मजाकमा नलिनको लागि आग्रह गरेकी छिन् । उनले यतिबेला सबैजनाले सावधानी अपनाउन आवश्यक रहेकाले सरकारको निर्णयलाई पनि सबैले मान्न जरुरी भएको बताएकी छिन् ।
उनले १५–२० दिनअघि इटालीको पनि अवस्था सामान्य नै भएको तर सरकारले बारम्बार सचेत रहने आग्रह गरिरहँदा पनि मानिसले सावधानी नअपनाएका कारण आज इटालीको अवस्था गम्भिर भएको बताएकी छिन् । निताले त्यसैकारण हामीले बेलैमा सावधानी अपनाउन आवश्यक रहेको बताएकी छिन् ।
उनले सम्पूर्णलाई सरकारले गरेको अपिल मानेर अत्यावश्यक कामभन्दा बाहेक अरु समयमा घरभन्दा बाहिर ननिस्कन अनुरोध गरेकी छन् ।
उनले लेखेकी छन्, ‘अहिले नेपालको अवस्था जस्तो छ, १५(२० दिन अगाडि इटालीको अवस्था पनि त्यस्तै थियो । सरकारले हरेक ठाउँमा बन्दी गरेको थियो, मानिसलाई काम नपरी बाहिर ननिस्कन, सावुन पानीले हात धुन, मास्क लगाउन, भेला नहुन र घरभित्रै बस्न भनेको थियो । तर, कसैले सरकारको आग्रह टेरेनन् । अहिले इटालीको अवस्था कस्तो छ सबैको अगाडि छर्लङ्ग छ ।’
उनले अगाडि लेखेकी छन्, ‘नेपाल सानो देश, त्यसमाथि हामीसँग कुनै प्रविधि छैन । त्यसैले हामी र हाम्रो देश सखाप हुन कत्ति पनि समय लाग्दैन । अहिले हाम्रो सरकारले पनि हामीलाई धेरै सुझावहरु दिइराखेको छ, तर हामीले त्यसलाई मजाकमा लिइरहेका छौं, यस्तै गर्यौं भने हाम्रो हालत पनि इटाटीको जस्तो नहोला भन्न सकिँदैन । त्यसैले हामी पनि अहिल्यैबाट सचेत बनौं ।’