०९ चैत्र २०७६, काठमाडौं
संसदीय समितिले कारागारमा रहेका कैदीबन्दीको संख्या घटाउन सरकारलाई निर्देशन दिएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले गम्भीर प्रकृतिको मुद्दाबाहेकका थुनुवालाई थुनामुक्त गरेको छ।
प्रतिनिधि सभाको ‘कानून, न्याय तथा मानव अधिकार समिति’ले कोभिड १९ (कोरोना भाइरस)को संक्रमण हुन नदिन कैदीको संख्या घटाउन सरकारलाई निर्देशन दिएको थियो ।
विश्वव्यापी महामारीको रुप लिएको कोरोनाको सम्भावित संक्रमणको जोखिम कम गर्न प्रहरी प्रशासनले थुनुवाको संख्या घटाउन शुरु गरेको हो ।
कोरोना संक्रमण भइसकेको अवस्थामा आइपर्ने जटिल अवस्थालाई मध्यनजर गरेर सामान्य प्रकृतिका अपराधमा संलग्नहरुलाई छाडिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता समेत रहेका डिएसपी कार्कीले आइतबार सामान्य प्रकृतिका १२ जनालाई रिहा गरिएको जानकारी दिए।
उनले सार्वजनिक मुद्दा, अभद्र व्यवहार, लागुऔषधलगायतको सामान्य प्रकृतिका घटनामा संलग्न भई थुनामा रहेका थुनुवाहरुलाई छाडिएको बताए।
फाइल तस्वीर