संघीय संसद्‍मा पनि ‘क्वारेन्टाइन’



०९ चैत्र २०७६, काठमाडौं

संघीय संसद् सचिवालयले क्वारेन्टाइन स्थापना गरेको छ।

कोभिड १९ (कोरोना भाइरस)को सभावित जोखिमलाई मध्यनजर गर्दै सिंहदरवारस्थित संसद सचिवालयका दुई भवन र नयाँ बानेश्वरमा रहेको संसद भवनमा सेवा दिने गरी क्वारेन्टाइन स्थापना गरिएको हो।

कोरोना संक्रमणविरुद्ध लड्न संसद भवनमा क्वारेन्टाइन स्थापना गरिएको हो। संसद सचिवालयले आइतबार क्वारेन्टाइन स्थापना गर्ने र सरसफाइ तथा स्प्रे छर्ने निर्णय गरेको संघीय संसद्का कार्यवाहक महासचिव गोपालनाथ योगीले बताए।

संसद्‍मा स्थापना भएको क्वारेन्टाइनले संसद्का पदाधिकारी, सांसद, कर्मचारी, संसद्‍मा आउने व्यक्तिहरूका लागि सेवा दिने सचिवालयले जनाएको छ।

कोरोना संक्रमित भएको आशंका भएको खण्डमा ती व्यक्तिलाई तत्काल सेवा दिन क्वारेन्टाइन स्थापना गरिएको संसद् सचिवालयका चिकित्सक डा. पुष्पराज रिजालले जानकारी दिए।

“हामीले तत्कालीन उपचारका लागि बेड स्थापना गरेका छौं। एक कोठामा बेड पनि छुट्याइएको छ। संक्रमित देखिएमा १५ मिनेटमा उपचार गर्ने अस्पतालमा पठाउने गरी एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ।” रिजालले भने।

प्रतिनिधिसभा बैठक १३ गते बोलाइएको छ। त्यस्तै, राष्ट्रियसभा बैठक भने अनिश्चितकालका लागि स्थगित गरिएको छ।

तस्वीरमा संघीय संसद भवन। फाइल तस्वीर।

प्रतिक्रिया दिनुहोस्