०९ चैत्र २०७६, काठमाडौं
विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कने बाटो खुल्ला गर्न मागसहित सर्वोच्च अदालतमा रिट दर्ता दायर भएको छ।
मन्त्रिपरिषद् कार्यालय र ‘कोरोना रोकथाम तथा नियन्त्रण’का लागि सरकारद्धारा गठित उच्चस्तरीय समितिसहित ८ वटा सरकारी निकाय तथा समितिलाई विपक्षी बनाएर अधिवक्ता दम्पतीद्धय माधव बस्नेत र मिरा खड्का बस्नेतले रिट दायर गरेका हुन्।
दायर गरिएको रिटमा विपद्को बेलामा आफैँले आफ्ना नागरिकहरू खोजेर ल्याई उपचारलगायतका व्यवस्था गर्नुपर्नेमा उल्टै नागरिकहरूलाई आफ्नो देशमा प्रवेश गर्न असहज बनाएको र त्यसले विदेशमा रहेका प्रत्येक नेपाली नागरिकको मौलिक तथा मानव अधिकार हनन् गरेको दावी गरिएको छ।
कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले गत साता युरोपका सबै मुलुकहरु, पश्चिम एसियालगायत खाडी मुलुकहरु इरान, टर्की, मलेसिया, जापानबाट आउने र ती मुलुकका ट्रान्जिट भई जुनसुकै मुलुकबाट आउने यात्रुहरुलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।
सरकारले ती देशमा रहेका नेपालीलाई समेत प्रतिबन्ध लगाइएको सरकारको बताएको थियो। आइतबारदेखि नेपाल आउने सबै नियमित उडान समेत बन्द गरिएको छ।
सरकारको निर्णय विदेशमा रहेका नेपालीको हकमा भने लागु नहुने गरि कार्यान्वयन गर्न उत्प्रेषणको माग गर्दै रिट दायर भएको हो।
तस्वीरमा सर्वोच्च अदालत। फाइल तस्वीर।