०९ चैत्र २०७६, काठमाडौं
फ्रान्स, कतारको दोहा हुँदै काठमाडौं आएकी युवतीलाई कोभिड १९ (कोरोना भाइरस)पोजेटिभ देखिएपछि सरकारले नेपाल आएपछि उनीसँग सम्पर्कमा रहेका सबै मानिसलाई खोज्ने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ चिकित्सक डा. रोशन पोखरेलको नेतृत्वमा चार जनालाई २४ घन्टाभित्र सो युवती आएको विमानमा रहेका मानिसहरू क्वारेन्टाइनमा छन् वा छैनन्, उनीसँग गत चैत चार गतेदेखि हिजोसम्म सम्पर्कमा रहेका सबैलाई पत्ता लगाई उनीहरूलाई क्वारेन्टाइनमा नभए क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गर्न भनेको छ।
मन्त्रालयको स्वास्थ्य अपात्कालीन तथा विपत् व्यवस्थापन इकाइले कोरोना भाइरस संक्रमित युवती चढेको हवाईजहाजका अन्य यात्रुको खोजी गरी तत्काल परीक्षणको दायरामा ल्याउन इपिडिमियोलोजी तथा रोक नियन्त्रण महाशाखालाई निर्देशन दिएको हो।
गत ४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल भित्रिएकी १९ वर्षीया युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि केन्द्रले यस्तो निर्देशन दिएको हो।
तस्वीरमा समितिका सदस्यहरु। फाइल तस्वीर।