भारतीय सीमामा अलपत्र नेपालीलाई नरोक्न सरकारको निर्देशन



०९ चैत्र २०७६, काठमाडौं

छिमेकी मुलुकसँगको सीमा-नाका बन्द गरिएपछि सीमामा अलपत्र परेका नेपालीलाई स्वदेश प्रवेशमा नरोक्न सरकारले निर्देशन दिएको छ।

भारतमा बस्न असहज भएर स्वदेश फर्किएका जनतालाई रोक्न उचित नहुने भन्दै सरकारले यस्तो निर्देशन दिएको हो।

सीमामा पर्याप्त परीक्षण गरेर नेपाल पठाउन र उनीहरुको निगरानी समेत राख्न निर्देशन दिइएको उप-प्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले बताए।

नेपाल फर्किएकालाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्न लगाउने र निगरानी समेत गर्न भनिएको उनको भनाइ छ।

सरकारले सीमामा आवतजावत रोके पनि स्वदेश फर्किन लागेका आफ्ना जनतालाई रोक्न नमिल्ने पोखरेलले बताए।

स्वास्थ्य उपकरण तथा सामाग्री मगाउने कामलाई तीव्रता
सरकारले आवश्यक पर्ने स्वास्थ्य उपकरण तथा सामाग्री मगाउने कामलाई तीव्रता दिएको छ।

यो सातासम्म सरकारलाई चाहिने सामाग्रीहरु नेपाल ल्याइने उपप्रधानमन्त्री पोखरेलले बताए।

कुनै कारणले ढिला हुने भयो भने जहाज चार्टर गरेर भएपनि ल्याउन सरकार प्रतिवद्ध रहेको उनले बताए।

सरकारले चैत ९ गते चीनबाट १९ र भारतबाट १६ प्रकारका स्वास्थ्य सामाग्री तथा उपकरण ल्याउने निर्णय गरेको छ।

तस्वीरमा भारतबाट फर्किँदै नेपाली। फाइल तस्वीर।

प्रतिक्रिया दिनुहोस्