नेपालमा ‘कोरोना’ : ६०० जनामा नमूना परीक्षण, ५९८ जनामा कोरोना देखिएन



११ चैत्र २०७६ काठमाडौं

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोभिड १९ (कोरोना भाइरस)संक्रमणको आशंकामा ६ सय जनाको नमूना परीक्षण गरेकोमा ५ सय ९८ जनामा नेगेटिभ देखिएको छ।

मंगलबार (आज)सम्म गरिएको परीक्षणमा जम्मा २ जनामा मात्र कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ।

नेपालमा पहिलो पटक गत ८ माघमा एक जनामा कोरोना पुष्टि भएकामध्ये एक जना उपचारपछि डिस्चार्ज भइसकेका छन्।

एक जना १९ वर्षीया किशोरी शुक्रराज सरुवा रोग टेकुमा उपचाररत छिन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताका अनुसार आज ५० जनाको परीक्षण रिर्पोट आएको थियो।

उनीहरू कसैमा पनि कोरोना भाइरसको संक्रमण देखिएन। मंगलबार थप ६० जनाको नमुना संकलन भएको छ।

गुप्ताका अनुसार उनीहरूको रिर्पोट बुधबार आउने छ। “अहिलेसम्म प्रयोगशालाले ६ सय ६० जनाको नमूना परीक्षण गरेको छ।” उनले भने, ‘त्यसमध्ये ६० जनाको मात्र आउनु बाँकी हो।’

चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस संक्रमणले विश्वव्यापी प्रभाव विस्तार गरिसके पनि नेपालमा आत्तिनुपर्ने अवस्था नरहेको परीक्षण प्रतिवेदनले देखाएको छ।

नेपालमा गरिएका कोरोना परीक्षणको अधिकांश नतिजा नेगेटिभ आउँदा प्रयोगशालाको क्षमतामाथि शंका उब्जिने गरेको थियो।

तर विश्व स्वास्थ्य संगठनले पठाएको आधिकारिक प्रतिनिधिले बुझाएको प्रतिवेदनमा प्रयोगशालाको उपकरण र परीक्षणमा संलग्न जनशक्ति दक्ष भएको उल्लेख छ।

संगठनले परीक्षण क्षमता बढाउन भने सिफारिस गरेको छ।

तस्वीरमा कोरोना टेस्ट्। फाइल तस्वीर।

प्रतिक्रिया दिनुहोस्